
असार १०, २०७६ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा एउटै पार्टीमा हुँदा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले कहिलेकाँही आफ्नो दिमाग खल्बल्याउने तर्क गर्ने गरेको बताउनुभएको छ।
भरतपुर महानगरपालिकाको नगरसभालाई आज सम्बोधन गर्दै दाहालले विप्लवका तर्कले विगतमा अलिअलि आफ्नो दिमाग खल्बलीने गरेको सुनाउनुभयो । शान्ति प्रक्रियामा आएर संविधानसभाको निर्वाचन भइसकेपछि विप्लवले एक बैठकमा आफूहरुलाई प्रचण्डले काठमाडौँ ल्याउने भनेर मुम्बईमा बेचेको जस्तो अनुभूति भएको बताएको प्रचण्डले सुनाउनुभयो ।
प्रचण्डले अहिले आएर शायद विप्लवले मुम्बई नभएर काठमाडौँ नै ल्याएको कुरा बुझिसकेको हुुनुपर्ने बताउनुभयो । ‘प्रचण्डले मुम्बई लगेको रहेनछ काठमाडौँ नै लगेको रहेछ’ भन्ने बुझेपछि विप्लव मूलधारको राजनीतिमा आउने प्रचण्डको दाबी छ । उहाँले आजभोलि आफूले पाएको संकेत अनुसार विप्लवले यो कुरा बुझिसकेकाले उनी छिट्टै मूलधारको राजनीतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।
प्रचण्डले सार्वजनिक मञ्चबाटै ‘विल्पव’लाई मुलधारको राजनीतिमा ल्याउने दाबी गर्दै आउनुभएको छ । सरकारले विप्लव समूहसँग वार्ताको प्रयास जारी रहेको पनि बताइरहेको छ । तर, आफ्ना नेता कार्यकर्तामाथि धरपकड नरोकेपछि विप्लव समूह आक्रोशित छ। (स्राेत NRN)