छोरा बुहारीलाई बृद्ध आश्रमबाट बुढी आमाको चिठी

सन्दर्भ आमाको मुख हेर्ने औंशी

प्यारो छोरा शुभ आर्शिवाद,
बुहारी र नाती नातीनीमा धेरै धेरै सम्झना ।
श्री पशुपतिनाथको भगवानको कृपाले पक्कै पनि आरामै छौ होला भन्ने आशामा छु । बाबु अनि प्यारी बुहारी , मेरा आँखा दुइ नानी समान प्यारा नातिनतिनालाइ कस्तो छ । नदेखेको धेरै भो धेरै आर्शिवाद र माया अनि हजुर आमाले संझेकी छे रे भनेर सुनाइ देउ है । बाबु म पनि तिमीहरुको मायाले गर्दा आज सम्म बाचेकै छु बाबु ।
सायद व्यस्तताका कारण तिमीले यो पत्र पढ्नसम्म भ्याउदैनौ होला । तै पनि फुर्सद निकालेर पढ है । ठ्याक्कै एक वर्ष पुगेछ तिमीले मलाई माता तीर्थ नुहाउन सागर जाँउ भनेर यो आश्रममा ल्याएर छोडेको । माता तीर्थ औंशी –(आमाको मूख हेर्ने दिन ) आउना साथ मलाई त्यो दिनको याद झलझली आँउछ । बारीमा गोड्ने बेला भएका मकै, करेसामा लह लह पलाउदै गरेका स्कुस फर्सी, कल्कलाँउदा काँक्राका बोट अनि हुर्किदै गरेका आँप लिची र तिनका फेदमा हरिया खुर्सानीका बिरुवा त्यत्तिकै लह लह होलान ।

तिमीले मलाई लिएर यतातिर हिड्न लाग्दा म पनि आमासँगै जान्छु भन्दै कोकोहोलो मच्चाएर रुने प्यारी नातीनी अनि हजुरी कति बेला फर्कने छिटो आउनु है हामीलाइ धेरै पापा ल्याइदिनु, तपाइ नहुदा घर सुन्ने लाग्छ भनेर ती मेरा कलिला आखाका नानीहरुले भनेको कुरा संझना आइरहन्छ । साँझ सुत्ने बेलामा सधैं मलाई संगिनीको भाखामा लोरी गाउन लगाएर निदाउने साथै ननीहरुले बिहान आँगनमा खेलेको यादले पनि सताँउछ ।
तिमीहरुका बा वितेपछि छोरा बुहारी अनि तिनै नाती नातीनाको मुख हेरेर बाँचेकी थिए ,बालाइ भुल्ने प्रयास गरेकी थिए । तिमीहरु कामबाट ढिला गरी घर फकिदा नि तिनै नाती नातीनाको कपाल सुम्सुम्याँउदै कौसीमा बसेर वाटो हेरिरन्थ्यौं । हातखुट्टा बस्दै गएपछि साँझ घर फर्किदा दालभात सम्म पकाउन नसक्ने भएपछि तिमीहरुले मलाई यो आश्रमसम्म ल्याएर छोड्यौं, यो तिमीहरुको वाध्यता हो । मैले वुझेकी छु । तिम्रो यो निर्णयसँग मलाई अलिकति पनि बिस्मत लागेको छैन । विस्मत लाग्छ त चाडवाड र तिथी आउदा तिनै कलिला नाती नातीनी र छोरा बुहारीको साथ नहुँदा ।

मलाई राम्ररी थाहा छ । तिमीहरुको बाध्यता थियो मलाइ यहा छोड्नु । विहान सवेरै घरवाट दुबै जना काममा निस्कनु पर्ने साथमा बुहारीले खाना पकाएर हतार हतार नाती नातीनालाई स्कुलमा छोडेर आफ्नै कममा जानु पर्ने । साँझ नाती नातीना स्कुलवाट घर पुग्दासम्म तिमीहरु आइपुगेका हुँदैनथ्यौं । त्यो बेला नाती नातीनीले मलाई सम्झेर रुने गरेको पनि सुनेकी छु यो सुन्दा भने मुटु गाठो परेर आउछ । त्यो साँझ मलाई आश्रममा छोडेर घर पुग्दा मलाइ कसरी खोजे होेलान ? कहाँ जानुभो ? कहाँ छोडेर आँउनुभो भन्दै कत्ति खोजे होलान ? तिमीले के भनेर जवाफ दियौ । मनमा यस्तै कुरा खेलिरहन्छन । सायद मेरा हातखुट्टा नवसेका भए आजसम्म म पनि नाती नातीनाको सँगै हुन्थेँ । तिमीहरु बेलैदेखि आफ्नो स्वास्थको ख्याल गर्नु रोगले चापेपछि परिवारवाट टाढा जानुपर्दा अति नै मन दुख्दो रहेछ ।

तिमीले कार लिएर अफिस जान निस्केको,बुहारी स्कुटरमा छोरा छोरीसँग घरबाट बाहिर निस्केको, साँझमा सबै घर फर्केर भेला हुँदा कत्ति रमाइलो हुन्थ्यो । मैले जानी नजानी केलाएको तरकारी बुहारीले चुरा बजाउदै पकाएर खानदिदाको मिठास त भुल्न सक्ने कुरै भएन । कहिले काहि आश्रममा पाउजु लगाएर चुरा बजाउदै कोहि महिला आँउदा मेरै बुहारी आइन होला जस्तो लाग्छ ।

यसवर्षको माता तीर्थ औंशी बैशाख २१ गते परेको रहेछ । यहाँ आश्रममा बसेका साथीका छोराछोरी कसैले भेट्न आँउछु भनेर फोन गर्छन । कोही लिन आउने भएका छन । त्यो दिन यहाँ म एक्लै हुन्छु जस्तो छ । छोरा जसरी फुर्सद मिलाएर बुहारी र आँखाका नानी समान नाती नातीनालाई लिएर मलाई भेट्न आउ है । तिमीहरुलाई देख्न धेरै मन लागेको छ सारै न्यास्रो लागेको छ मेरो बाबु कस्तो भयो होला अनि बुहारी कस्ती भइन होला नातिनातिना कत्रा भए होला ? सबैलाइ एकपटक भेटेर गफ गर्ने इच्छा छ ।
तिमीहरु जसरी भेट्न आउ फेरी आमालाई भेट्न गयो भने हामीसँगै आँउछिन भन्ने डर लाग्न सक्छ म घर गएर तिमीहरुलाई अल्झाउन चाहन्न जसोतसो यहि रमाउन कोशिस गर्दैछु । दौंतरीहरु पनि छन । उनीहरुसँग तिता मीठा अनुभव साटासाट गर्छौं । ए अनि त्यो मेरा लुगा कपडा राख्ने बाकसमा राखेको मखमलको थैली भित्र दुईसय पचास रुपैंया राखेकी थिँए । एक सय तिमीले अफिस जाँदा खाजा खानु एकसय रुपैंया बुहारीलाई तरकारी किन्न दिनु अनि पचास रुपैंया नाती नातीनालाई बाडिदिनु त्यहि बाकसमा भएको मिश्रीको पोकोचाँहि च्यापेर ल्याइदियेस । राती तिमीहरुको यादले निद्रा नलागेका बेला मुख सुक्छ त्यो बेला चुस्दै सुत्छु ।
यसो खुर्सानी र साग बेचेर राखेका पैसा छिमेकीलाइ सापटी दिएकी थिए । फिर्ता लिने बेला भयो को को सँग छन भनेर चाहि यहि आएपछि भन्छु । अनी म सुत्ने ओछ्यान छेउको खोपामा बाती कातेर राखेकी थिँए । बुहारीले साँझबत्ती जगाउँदा बाल्नु । तिमीहरु दुबैजना अफिस जान्छौ । पहिलेको माली गाई कति बेत ब्यायो ? दुध दिँदैछ कि थाक्यो ? पल्लाघर साहिला काका पनि रुख चढ्न सक्न छोडे रे भन्ने सुनेकी छु । यदी त्यो हो भने गाइ बेचिदिनु । बरु दुध डेरीवाट लिए हुन्छ ।
मलाइ यहाँ लाउन खानको दुःख छैन आश्रमका नानीहरुले राम्रो चाकर गरेका छन । मेरा लागि केहि उपहार चाहिन्न केवल बुहारी र नाती नातिनाको मुख देखाउन ल्याए पुग्छ ।
अव धेरै गनथन नगरौं । यो पत्रमा तिमीहरुलाई भुलाइराख्नु उचित हुँदैन । फेरि पनि माता तिर्थ औंशीका दिन जसरी पनि समय मिलाएर आउनु । तिमीहरु व्यस्त छौ त्यो मलाई थाहा छ । मैले त्यो दिन छोरा बुहारी र नाती नातिनासँग भेट गर्न पाँए भने तीर्थ पुगे झैं हुन्छ । आखिर मेरो को नै छ र ? बा आमा सानैमा विते, तिमीहरुको बुवाले छोडेको पनि एककोरी पुग्न लागेछ । त्यसैले फेरी भन्छु त्यो दिन सय काम छोडेर मलाइ भेट्ने समय मिलाएस ।
तिमीहरुकै मायामा बाँचिरहेकी आमा
सकुन्तला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार