
काठमाडौँ ।। प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुट्नुभएको छ । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसक्नुभएको छ । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर्ष निकाल्दै मन्त्री फेरेर सरकारको कामलाई गति दिने तयारीमा प्रधानमन्त्री रहनुभएको छ ।
मन्त्री फेरिने छलफलसँगै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप बढाएका छन् । बालुवाटार स्रोतका अनुसार फेरिने मन्त्री र नयाँ मन्त्रीको लिस्ट प्रधानमन्त्री ओलीले तयारी गरिसक्नुभएको छ । लगानी सम्मेलनलगत्तै अध्यक्ष प्रचण्डको सहमति लिएर मन्त्रिमण्डल फेरबदल गर्ने तयारी रहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री र प्रचण्डबीच मन्त्री हेरफेरको बारेमा छलफल भएपछि केही मन्त्रीहरुले भने आफू मन्त्रीबाट हट्ने संकेत गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले एक सार्वजनिक कार्यक्रममा आफू मन्त्री नभए पनि सांसदको भूमिका रहेर विकास निर्माणको काममा लाग्ने अभिव्यक्ति दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुको एकवर्षे कामको मूल्यांकनलाई आधार बनाएर मन्त्री फेर्न लागेका बताइएको छ । अर्का अध्यक्ष प्रचण्डले केही मन्त्री मात्र परिवर्तन गर्दा राम्रो सन्देश नजाने भएकाले सबै मन्त्री फेर्न सकिने विकल्प पनि प्रस्तुत गरेको प्रचण्डको सचिवालयले बताएको छ । यो समाचार मधुसुदून रायमाझीले नेपाल समाचार पत्रमा लेख्नुभएको छ ।