पाँचथर ÷३० फाल्गुण ।। नेत्र विक्रम चन्द नेतृत्वको बिप्लब माओवादीले घोषणा गरेको बन्दको प्रभाव गएका बन्दहरु भन्दा बढि देखिएको छ । सरकारले विप्लब माओवादीलाई प्रतिवन्द घोषणा गरे संगै नागरिकमा समेत त्रास सृजना भएको पाइएको छ । बिप्लबले घोषणा गरेका गएका बन्दहरुमा शैक्षिक संस्थाहरु भने आशिंक मात्रै प्रभावित पाइन्थ्यो, यो पटक भने मन्टेश्वरी लगायतका शैक्षिक संस्था समेत पूर्ण रुपमा प्रभावीत भएका छन् ।
मेची पहाडका ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाबाट लामो तथा छोटो दुरीका कुनै पनी सवारी साधन चलेका छैनन् । गएका बन्दहरुमा ग्रामीण क्षेत्रका सडकहरुमा निर्वाद रुपमा चल्ने यातायातका साधन समेत यो पटक प्रभावित भएको पाइएको छ ।
विप्लब माओवादीका नगन्य मात्रै कार्यकर्ता रहेको मानिएको पाँचथर जिल्लाको सदरमुकाम फिदिम समेत विहानै देखी सुनसान छ । अधिकाशं पसलहरु बन्द रहेका छन् भने थोरै संख्यामा खुलेका पसलहरुपनी आंशिक मात्र खुलेका छन् । सडकमा गुड्ने मोटरसाइकलको संख्या समेत पातलो देख्न पाइन्छ ।
जिल्ला प्रहरीकार्यालय पाँचथरले दिएको जानकारी अनुसार गाडीहरुलाई जम्मा गरेर प्रहरीले स्कर्टिङको ब्यवस्था गरिएको छ । विप्लव समूहले आह्वान गरेको बन्दलाई निस्प्रभावी बनाउन सरकारले राजधानीसहित देशभरको सुरक्षा व्यवस्था कडा बनाएको बताए पनी बन्दको क्रममा विभिन्न ठाउँमा गाडीहरुमा आगजनी भएको तथा बम हरु समेत भेटिएको समाचार आइरहेका छन् ।