
काठमाडौं – सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदासमेत नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त बैठकमा विप्लव समूहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था र्सिजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताउनुभएको थियो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेकाले सरकार प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको ती मन्त्रीको दावी थियो । मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो ।
पछिल्लो समय प्रधानमन्त्री एवं नेकपाका अधयक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विप्लव नेतृत्वको पार्टीसँग आक्रमक हुँदै आउनुभएको थियो । उक्त समूहप्रति आक्रमक भएको सरकार अन्ततः उक्त समूह आपराधिक भएको निष्कर्षमा पुगेको छ ।
उक्त नेकपाका अध्यक्ष विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । केही समयअघि मात्र उक्त समूहले राजधानीमा प्रदर्शन गरेको थियो । विप्लव तत्कालिन अवस्थामा नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् । तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीभित्र बढेको विवादको कारण मोहन वैद्यसहितका नेताहरु माओवादीसँग अगल भएर नयाँ पार्टी गठन गर्नुभएको थियो ।
तर विप्लव र वैद्यसँग लामो समय मिल्न सकेनन् । वैद्यसँग असन्तुष्टि जनाउदै नेकपा समुह गठन गरेर उक्त समूह एकीकृत क्रान्तिको अवधारणासहित अगाडि बढेको थियो । विप्लव समुहले आफ्नो प्रभाव क्षेत्रमा चन्दा संकलन गर्ने, बम पडकाउने लगायतको क्रियाकलापलाई तीब्रता दिएपछि केही समययता मात्र करिब चार सय भन्दा बढी नेता तथा कार्यकता पक्राउ परेका छन् ।
सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अर्धभूमिगत रुपमा रहेका विप्लव समुहका नेताहरु भूमिगत भएका छन् । यस बारेमा विप्लव समुहका प्रवक्ता खडगबहादुर विश्वकर्मासँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन । पूर्व नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुले सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाउने हतारो गरेको भन्दै असन्तुष्टि जनाएका छन् । याे समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।