बुटवल – विकास निर्माणका आफ्ना चासो सुनुवाई नभएको भन्दै रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारस्थित आफ्नै निवासमा आइतवार बिहान कार्यक्रम गरी शुक्लाले नेकपा परित्याग गरेको घोषणा गरेका हुन् ।
शुक्लासँगै उनकी श्रीमती प्रदेशसभाको निर्वाचनमा साविक नेकपा एमालेका तर्फबाट उम्मेदवार पल्लवी शुक्लाले पनि पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । स्थानीय तहको निर्वाचनमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन अघि तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए ।
विकास निर्माणका आफ्ना चासो सुनुवाई नभएपछि पार्टी परित्याग गर्नुपरेको उनले बताए । शुक्लाले लोकान्तरसँग भने, ‘यस क्षेत्रका समस्या समाधान गर्न पार्टीका महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, अन्य केन्द्रीय स्तरका नेताहरूलाई पनि पटक–पटक अनुरोध गरें । त्यसको कुनै सुनुवाई नभएपछि पार्टी परित्याग गरेका हौं ।’
उनले थपे, ‘हामीसँगै झण्डै १ हजार जनाले नेकपा परित्याग गरेको घोषणा गरेका छौं ।’ नेकपाले जिल्लाको पिछडिएको क्षेत्र मर्चवारका जनतालाई बेवास्ता गरेको र पार्टीका विभिन्न समितिको गठनमा आफूहरूलाई बाइपास गरेकाले बाध्य भएर पार्टी छोड्नु परेको दुवैको भनाइ छ । अध्यक्ष शुक्लाले नेताहरूले अपमान हुने ढंगले व्यवहार गरेकोले पार्टी छाडेको बताए । उनले तत्काल कुनै पार्टीमा प्रवेश गर्न आफूहरूको योजना नभएको बताए । मर्चवार क्षेत्र नेकपाको कमजोर इलाका पर्छ । उक्त क्षेत्रमा आफूहरूको उपस्थिति बलियो बनाउन वामदेव गौतमले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए । लोकान्तर डटकम बाट