धनगढी फागुन २२॥ टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ।
थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा ४२ महिनाअघि २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डको मुद्दाको आज फैसला गर्दै जिल्ला अदालत कैलालीले उक्त फैसला सुनाएको हो । फैसलापछि उनीहरुले २०९४ साल फागुन ११ गतेसम्म जेलमा बस्नुपर्ने जनाएको छ । सो मुद्वामा थरुहट नेता लक्ष्मण चौधरी, लाहुराम चौधरी, दुई नावालक गरि १५ जनालाई भने रिहा गर्न आदेश दिएको अदालतका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिाुभयो । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच मंगलबार बहस सकिएपछि मुद्दाको फैसला गरिएको हो ।
झण्डै ४२ महिनापछि गत बुधवारदेखि तोकिएको पेशी अन्तर्गत एक साता सम्म वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे,अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो । टीकापुर हत्याकाण्डको अभियोगमा प्रतिनिधिसभामा निर्वा्चित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर भएको थियो। सांसद रेशम चौधरी, नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी फरार अवस्थामै छन् ।
पक्राउ परेकामध्ये दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको थियो ।