विश्वलाइ आश्चार्यमा पारेकाे सामसुङकाे पट्याउन मिल्ने फाेनका यस्ता छन विशेषता

सन फ्रान्सिस्को (अमेरिका) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले पट्याउन मिल्ने (फोल्डेबल) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा बुधवार सो फोन सार्वजनिक गरेको हो ।

ग्यालेक्सी फोल्ड नामक यो फोनलाई स्मार्टफोन र ट्याबलेट दुबैका रुपमा चलाउन मिल्छ । पट्याएर राखिएको अवस्थामा परम्परागत फोन झैं हातमा अटाएपनि पुरै खोल्दा भने यो ट्याबलेट बन्छ । फोनको रुपमा रहँदा यो उपकरण ४.६ इन्च ट्याबलेटको रुपमा रहँदा भने ७.३ इन्चको छ ।

फोनलाई पट्याउन सजिलो होस् भनेर पट्याइएको अवस्थामा दुबै हिस्सामा पर्ने गरी २ ओटा ब्याट्री राखिएको छ । फोनमा ट्याबलेट र स्मार्टफोन मोड दुबैमा काम गर्ने गुगल एण्ड्रोइडको संस्करण राखिएको छ । फोनमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) लगायत अन्य केही विशेषताहरु पनि छन् । यो फोन अप्रिल २६ मा विक्रीका लागि उपलब्ध हुने बताइएको छ । त्यतिबेला फोन एलटीई र ५जी संस्करणमा आउनेछ ।

यसको मूल्य १ हजार ९८० अमेरिकी डलर रहेको छ । कम्पनीले सन् २०१८ को नोभेम्बरमै ग्यालेक्सी फोल्डको प्रोटोटाइप सार्वजनिक गरेको थियो । यो फोन पनि प्रोटोटाइप जस्तै छ । तर यसमा पहिलाको भन्दा राम्रो क्यामरा छ । बुधवारै सामसुङले ग्यालेक्सी एस१० को नयाँ मोडेल पनि सार्वजनिक गरेको छ ।

तीब्र प्रतिस्पर्धाका कारण विश्वभर मोबाइलको विक्री घट्न थालेको छ । गत वर्ष मात्रै स्मार्टफोनको विक्री ८ प्रतिशतले घटेको थियो । यस्तोमा कम्पनीहरुले स्मार्टफोन प्रयोगकर्ताहरुलाई आकर्षित गर्न र विक्री बढाउन विभिन्न खाले लुक्स र फिचर भएका स्मार्टफोन ल्याउन तीव्र प्रतिस्पर्धा गरिरहेका छन् । यस वर्ष जेड्टीई, मोटोरोला, एलजी, साओमी, हुवावेई लगायत कम्पनीहरुले पनि पट्याउन मिल्ने फोन ल्याउने तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार