
नारायणपुर, १ फागुन ः मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइप¥यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ ।
अल्लोको धागो काटेर घर चलाउने घोराही उपमहानगरपालिका वडा नं १४ की मनखुशीले मासिक ७०० रुपैयाँ मात्रै कमाउनुहुन्छ । मनखुशीलाई समस्या त यस्तो आइप¥यो कि दुई बच्चामा कुपोषण देखाप¥यो । वडास्तरमा सञ्चालन गरिएको पोषण तथा खाद्य सुरक्षा कार्यक्रमबाट मनखुशीले बालबालिकाको उपचार गराइरहनु भएको छ ।
घोराहीकै वडा नंं २ की सुशीला चौधरीले पनि कुपोषणग्रस्त आफ्नो छोरीको उपचार गराउन थालेको ६ महिना पुग्यो । केही सुधार देखिएको बताउने सुशीलाको वडामा मात्रै ११ जना कुपोषित बालबालिकाको उपचार चलिरहेको छ । सुशिलाले भन्नुभयो – “जन्मिएको दुई वर्ष भयो तर, बच्चा नै सानो छ । जति खुवाए पनि नमोटाएपछि अस्पताल गएँ । कुपोषण भएको छ भन्थे । अहिले विस्तारै राम्रो हुँदैछ ।” खानेकुरा खुवाउन नजान्दा छोरीको शारिरीक वृद्धि नभएको सुशिलाले पत्तो पायो ।
सुशीलाको वडामै रहेको रामपुर स्वास्थ्य चौकीबाट मात्रै २६ जना शीघ्र कुपोषित बालबालिकाको उपचार भैरहेको छ भने, ढिकपुर स्वास्थ्य चौकीमा १६ जना बालबालिका उपचाररत छन् । यसरी घोराही उपमहानगरपालिका क्षेत्रभित्र मात्रै ४२ जना बालबालिकामा कडा खालको कुपोषण देखा परेको स्वास्थ्य शाखाका प्रमुख नारायण धर्तिले बताउनुभयो ।
“घोराहीको रामपुर र ढिकपुरमा कुपोषित बालबालिकाको उपचार गर्ने व्यवस्था मिलाइएको छ, अहिले भर्खरै घोराहीमै पनि पोषण पुनःस्थापना केन्द्र स्थापना भएको छ,” प्रमुख घर्तिले भन्नुभयो – “उपमहानगरपालिका क्षेत्रभित्र सम्पर्कमा आएका ४२ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ ।” (रासस)