माघ २५, काठमाडौं नेकपाका सांसद हृदयश त्रिपाठीले चिनी उत्पादनका लागि मिलहरु डेढ महीना ढिलो चलेकाले आउँदो जेठ–असार तिर चिनीको संकट उत्पन्न हुने ठोकुवा गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद त्रिपाठीले चिनी अभाव भएपछि फेरि आयातको लागि विचौलियाहरुको चलखेल बढ्ने दाबी गरे ।

सांसद त्रिपाठीले बिचौलियाको पक्षमा काम गरेको भन्दै किसानको पक्षमा काम नगर्ने कृषि विकास मन्त्रालय खारेज गर्न मागसमेत गरे । ‘किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ,’ सांसद त्रिपाठीले भने, ‘यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रैछ ।’ २०३४ सालदेखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत र किसानको नाम गरी तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीमाथि प्रश्न गरे ।

आफूले पटक–पटक उखु किसानको समस्याबारे कुरा उठाएको तर सरकारले नसुनेको भन्दै उनले भने, ‘जसलाई लाज लाग्नुपर्ने हो, उसलाई लाज नलागेको हुनाले मैले लाज नमानीकन भन्दै छु ।’ जुनसुकै सरकार आएपनि सबै सरकारबाट किसानहरु उपेक्षित हुँदै आएको र विचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मूल्य तोके पनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले कृषि मन्त्रालयको जटिल सर्कुलेशनको कारण २५ देखि ३० प्रतिशत किसानले मात्रै गत वर्षको उखुको मूल्य पाएको तर यसवर्षको भने बाँकी नै रहेको दाबी गरे । गतवर्षकै उखुको मूल्य किसानले नपाउँदा पनि सरकार निरिह र लाचार भएर बसेको उनले आरोप लगाए ।

सरकार र उद्योगीले आ–आफ्नो हितका लागि किसानलाई सधैं बलि दिने गरेको आरोप उनले लगाए । उनले भने, ‘देवीले बाघ भालुको बलि मागेको छैन । देवीले माग्ने भनेको निर्बलको बली हो । व्यापारी, उद्योगपति, चिनी उद्योगपति र सरकारको लडाईमा बलि चढे उखु किसानहरु, र यी तीनओटैले बलि दिए किसानलाई ।’ (आर्थिक अभियान)