पाँचथर
चौंरी व्यवसाय प्रबर्धनसँगै व्यवसायीका मुद्धामा सामुहिक पैरबी गर्ने निष्कर्ष सहित चौरी संरक्षण सञ्जाल –(PTI) गठन गर्दै पाँचथर, ताप्लेजुङ र इलामका चौंरी व्यवसायीहरुको भेला पाँचथरको फालेलुङ गाँउ पालिकामा सम्पन्न भएको छ । कार्यक्रममा तीनवटै जिल्लाका चौरी व्यवसायी जैविक विविधता संरक्षण र चौंरी गोठ व्यवस्थापनका मुद्धामा छलफल गर्न दुईदिन अघि फालेलुङ गाँउ पालिकाको प्राङवुङ बजारमा भेला भएका थिए ।
भेलामा सहभागिहरुले भारतसँग सिमाना जोडिएका इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी र हिमाली क्षेत्रबाट चौंरी गोठ बिस्थापित हुन लागेको भन्दै स्थानीय चौरी प्रबर्धनका लागि स्थानीय सरकारले योजना निर्माण गर्नुपर्ने आवस्यकता पनि औंल्याए । हिमाली क्षेत्रको चौरी व्यवसाय प्रवर्धनका लागि योजना निर्माण गर्न पाँचथरको फालेलुङ गाँउ पालिकाले भेलाको आयोजना गरेको थियो भने इसिमोड नेपाल र दीप ज्योती युवा क्लवले सह आयोजकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका लागि डिभिजन बन कार्यालय पाँचथर र रिकाष्टले संयोजनमा साथ दिएको वताइएको छ ।
भेलाले तीनवटै जिल्लाका चौरी व्यवसायीलाई समेट्दै चौरी संरक्षण सञ्जाल गठन गरेको छ । थर्कप्रसाद गुरुङ संयाजक रहेको समितिको उपाध्यक्षहरुमा पुष्प बानिया र लोकन्द्र राई,सचिवमा नरवहादुर खपाङगी, सह सचिवमा अमृत राई, कोषाध्यक्षमा लाम्देन भुटिया सहित २१ जना सदस्य छन । समितिमा ६ जना सल्लाहकार छन । पाँचथरको फालेलुङ र याङवरक, ताप्लेजुङको सिदिङमा र इलामको सन्दकपुर गाँउ पालिकाका उच्च पहाडी र हिमाली क्षेत्रमा चांैरी पालन हुँदै आएको छ । यसैविच पछिल्लो समय चौंरी पाइने गाँउ पालिका मध्ये इलामको सन्दकपुरले चौंरी बिस्थापन गर्ने नीति लिएपछि यस क्षेत्रमा चौंरीको संरक्षण कि विस्थापन ? भन्ने विषयमा छलफल भइरहेको छ । व्यवसायीहरु भने हिमाल र चौंरीलाई एक अर्काको पर्याय भन्दै हिमाल विनाका चौंरी र चौंरी बिनाका हिमाल कल्पना गर्न नसकिने भएकाले संरक्षण गर्नुपर्ने आवाज उठाँउदै आएका छन । यसैविच फालेलुङमा आयोजित तीन जिल्लाका चौरी पालन व्यवसायीको यो भेलाले चौंरी संरक्षणमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको फालेलुङ गाँउ पालिका वडा नम्वर ५ का अध्यक्ष जीवनकुमार राईले बताए । कार्यक्रममा ताप्लेजुङको सिदिङमा गाँउ पालिका अध्यक्ष नरवहादुर कँडेरीयाले चौंरी संरक्षणका लागि तीनवटै जिल्लाका सवै स्थानीय तहले कार्य योजना निर्माण गरेर कार्यन्वयन गर्नुपर्ने सुझाब राखे ।
चौंरी पालन व्यवसायीले उच्च पहाडी क्षेत्रमा सीमानाका पहरेदारको भूमिका निर्वाह गर्दै पर्या पर्यटनका लागि गतिविधि सञ्चालन गर्दै आएकाले व्यवसाय प्रवर्धन गर्नुको विकल्प नरहेको फालेलुङ गाँउ पालिकाका अध्यक्ष सञ्चकुमार केरुङको टिप्पणी थियो । चौरीसँगै हिमाली र उच्च पहाडी क्षेत्रको जैविक विविधता संरक्षणका लागि स्थानीय तहसँग हातेमालो गर्दै अगाडी वढ्न भेलाले मार्गप्रश्थ गरेको दीप ज्योती युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावाको भनाई छ ।