हैदरावाद । भारतको राजीव गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान लागेका तीन जना नेपाली महिलालाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । उनीहरु पर्यटक भीसामा काम गर्नकालागि त्यस तर्फ जान खोजेको बताइएको छ ।

उनीहरुले नेपाली दूतावासले दिएको नो अब्जेक्सन लेटर (एनओसी) बुझाएको भएपनि त्यो नक्कली भएको जनाइएको छ । पक्राउ परेका महिलाहरुमा टीका कुमारी कडेल, निरमाया स्याङतान र बबिता दर्जी भएको भारतीय प्रहरीले जनाएको छ । शम्साबादको प्रहरीका डेपुटी कमिस्नर प्रकाश रेड्डीले जनाए अनुसार उनीहरुको नेपाली पासपोर्टमा युएईको पर्यटक भीसाको स्ट्याम्प लगाइएको छ । उनीहरु शुरुमा नयाँ दिल्लीको बिमानस्थलबाट दुबई जान लागेकोमा एजेन्टले त्यहाँ चेकिङमा कडाई हुने भएकोले हैदरावाद रुटबाट जान सल्लाह दिएअनुसार त्यहाँ गएको भारतीय प्रहरीले जनाएको छ ।
(टाइम्स अफ इण्डिया)