भारतसँग सिमाना जोडिएका स्थानीय तहको क्वारेन्टाइन भरिभराउ

चैत १९, कपिलवस्तु (चन्द्रौटा) । भारतसँग सिमाना जोडिएका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन भरिभराउ भएका छन् । भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न थालेपछि अहिले शय्याको अभाव हुन थालेको छ ।

भारतीय सीमासँग जोडिएका कपिलवस्तुको बिजयनगर गाउँपालिकाले ११७ शय्याको क्वारेन्टाइन निर्माण गरेको छ । सो क्वारेन्टाइनमा भारतबाट आएका १०३ जना राखिएको गाउँपालिकाले जानकारी दिएको छ । खुला सिमानाका कारण भारतबाट भागेर आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्न समस्या भइरहेको बताइएको छ ।

जवावैराठ, डालपुर, ठाकुरापुर लगायत विभिन्न नाका नाकाबाट थुप्रै नेपालीहरु आउने आउने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ अधिकारीले बताए । शुरुमा १६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको थियो तर भारतबाट आउने नेपालीहरुको संख्यामा वृद्धि भएपछि शय्याको संख्या बढाइएको उनले बताए ।

अहिले गाउँपालिकास्थित ३ ओटा माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । ठाउँको अभाव हुँदा विद्यालयलाई प्रयोग गरेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए । क्वारेन्टाइनमा बस्ने सबै जनाको निःशुल्क खाने व्यवस्था मिलाइएको गाउँपालिकाले जानकारी दिएको छ ।

त्यस्तै जिल्लाको शुद्धोधन गाउँपालिकाले निर्माण गरेको ६० शय्याको क्वारेन्टाइनमा ४९ जना रहेका छन् । महाराजगञ्ज नगरपालिकाले तयार पारेको ८० शय्यामा ७० जना रहेका छन् ।

शिवराज नगरपालिकाले निर्माण गरेको १९ शय्यामा १५ जना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । दैनिक रुपमा क्वारेन्टाइनमा बस्नेको संख्या बढिरहेकाले शय्या थप गर्ने योजना रहेको उनले बताए ।

‘क्वारेन्टाइनमा अधिकांश भारतबाट फर्किएर आएका नागरिक छन्, अब नगरका अन्य तीन ठाउँमा क्वारेन्टाइन स्थापना गर्ने तयारीमा छौँ’ पौडेलले भने, ‘क्वारेन्टाइनमा बसेका सबैको अवस्था सामान्य छ ।’

सीमासँग जोडिएको कृष्णनगर नगरपालिकाले पनि क्वारेन्टाइनमा शय्याको संख्या बढाउने तयारी गरेको छ । अहिले सबै वडामा क्वारेन्टाइन कक्ष निर्माण गरेको र भारतबाट फर्किएर आउने सबै नेपालीलाई सुरक्षित तरिकाबाट उनीहरुलाई आफ्नो जिल्लामा पठाइएको नगरप्रमुख रजतप्रताप शाहले बताए ।

जिल्लाका १० स्थानीय तहमा ५०६ शय्याको क्वारेन्टाइन निर्माण भएका छन् । मंगलवारसम्म ३७३ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए ।

अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए । जिल्लामा ८ ओटा आइसोलेशन कक्ष बनाइएको छ । क्वारेन्टाइनमा बसेको कसैलाई पनि आइसोलेशन कक्षमा राख्ने अवस्था नआएको प्रजिअ पौडेलले बताए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार