असार १६ काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्य तोकिएको समयमै पूरा भएको छ । विमानस्थलको धावनमार्ग मर्मतका लागि तोकिएको ९० दिनमा नै सबै काम पूरा भएपछि आजदेखि विमानस्थल २१ घण्टा सञ्चालनमा आउनेछ । यो समयमा एक दिन पनि विमान उडान र अवतरण बन्द भने गरिएन ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य पूर्णरूपमा सम्पन्न भएको बताउँछन् ।

विमानस्थल मर्मतमा पहिलो पटक ‘मेलिङ मेशिन’ प्रयोग भएको थियो । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । काठमाडौँ निदाइरहेको बेला हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामग्री फालेर विभिन्न तहमा निर्माण सामग्री राखिन्थ्यो । राति भत्काइएको धावनमार्ग बिहान ८ बजे उडान तथा अवतरणका लागि जस्ताको तस्तै बनाइयो ।
गौचरनबाट शुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव पूर्ण अवस्था पनि व्यहोरेको राससले जनाएको छ ।

सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय विमान उडान र अवतरण गर्न थालिएको थियो । हाल यो विमानस्थलबाट १९ सिट क्षमताका साना देखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् ।

‘गोरखा भूकम्प’ले अन्य स्थानमा ठूलो क्षति पु¥याए पनि विमानस्थलमा खासै प्रभाव पारेन तर विमानस्थलका जानकार तथा राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय परामर्शदाताले धावनमार्ग र ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर नयाँ प्रविधि प्रयोग गरी नयाँ कालोपत्र राखी मर्मत गर्न सुझाएका थिए ।

विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तर्रा्ष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् । धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती गरियो । जुन नगन्य जस्तै हो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विश्वास लिइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको सन्दर्भमा विमानस्थल २४सै घण्टा पूर्ण सञ्चालनमा आउनु देशकै लागि पनि सुखद खबर हो । यसले नेपालमा समयमा काम हुँदैन भन्ने आम सोचाइमा समेत परिवर्तन ल्याइदिएको छ । जुन नेपालका अन्य ठूला भौतिक पूर्वाधार निर्माणमा यही उदाहरण अनुकरण गर्ने हो भने ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । (१२खरी बाट)