चितवन
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई आज चितवनमा भव्य स्वागत गरिएको छ। भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत र्यालीका साथ रङ्गशाला निर्माणस्थल रामपुर पुर्याइएको थियो। रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताए। उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताए। उनले तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी गराए। फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि अनुराेध गरिन्। सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उनले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताइन् । स्थानीयवासीले घरअगाडिका सडक किनारामा घडा राखेर र ठाउँठाउँमा स्वागतद्वारसहित स्वागत गरेका थिए। आजैदेखि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको घोषणा गरिएको छ । दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न सकिनेछ। रङ्गशालालाई एकेडेमीका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ। भरतपुर महानगरपालिका–१५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो ।






















