राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवन जिल्ला भेला गर्दैछ ।
चितवनको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा दिउँसो १२ बजे रास्वपाले जिल्ला भेला गर्न लागेको हो । रास्वपाका सभापति रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको देखिन्छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा २०७६ सालमा पक्राउ परेका लामिछानेलाई केही दिन चितवनमा राखिएको थियो । रविको रिहाइका लागि चितवनमा मानवसागर उर्लिएको थियो । असार ७ गते रास्वपा घोषणा गरेका रविले पहिलो भेला नै चितवनमा गर्न लागेका छन् ।
भेलालअघि भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले भने, ‘कठोर समयमा चितवनले मलाई तकर्मका लागि बाटो देखायो । फलामे जंजिर चिरेर बाहिरको संसारमा पखेटा फिँजाउन चितवनले सिकायो ।’
फेरि मानव सागरमा तैरिन चितवन आउन लागेको लामिछानेले बताएका छन् । चितवनको सिसा कम्पलेक्स, सहिद चोक, धौलागिरी फेन्सी स्टोर टाडी चोक, कँडेल चिया पसल देवघाट, पुरानो राजेश होटेल हाकिम चोकमा रास्वपाको पार्टी सदस्यता लिन सकिने लामिछाने बताका छन् ।






















