काठमाडौँ, २८ फागुन: उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुष्ठ रोग लागेका व्यक्तिको सम्मानका साथ उपचार गर्नुपर्ने तथा उनीहरुलाई आदर, सम्मान र माया दिएर समाजमा पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ ।

एक्काइसौँ अन्तर्रा्ष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा ‘एशोसिएशन अफ आइडिया नेपाल’ले आज आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले कुष्ठ रोग पूर्वजन्मको पाप र देवी देउताको श्रापबाट हुने होइन् यो रोगको औषधि खाएर उपचार गरेमा शतप्रतिशत निको हुने बताउनुभयो ।

आनन्द बन अस्पतालका निर्देशक इन्द्र नापितले नेपालमा कुष्ठ रोग उन्मुलन गर्ने उद्देश्यले सन् १९५७ मा आनन्द बन अस्पताल स्थापना गरिएको र अस्पतालले कुष्ठ रोगका बिरामीको निःशुल्क उपचार गर्दै आएको जानकारी दिनुभयो । उहाँले उक्त अस्पतालमा दक्षिण एशियाकै गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको र यहाँ भारत तथा म्यान्माका रोगी पनि उपचारका लागि आउने गरेको बताउनुभयो ।

‘दि लेप्रोसि मिसन नेपाल’का अध्यक्ष एवं छाला रोग विशेषज्ञ अशोक अधिकारीले कुष्ठ रोगीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । उहाँले उपचार गरेमा निको हुने रोग भएकाले मानिसले रोगी माथि विभेद गर्न नहुने बताउनुभयो । नेशनल प्याप्सनका महासचिव सुभास न्यौपानेले शिक्षकको तर्फबाट नेपालमा कुष्ठ रोग निवारण गर्ने अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुष्ठरोग निवारण गर्न चार दशकदेखि सक्रिय समाजसेवी गोपाल हरि पोखरेलले कुष्ठ रोगीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आफू सक्रिय रहँदै आएको बताउनुभयो । एशोसियशन अफ आइडिया नेपालका अध्यक्ष अम्बरबहादुर तिमिल्सिनाले आफू पनि कुष्ठ रोगी भए पनि उपचार गरेर पूर्ण रुपमा निको भएको जानकारी दिँदै आफूले कुष्ठरोगीको उपचार गर्न चेतना जगाउने काममा राष्ट्रिय तथा अन्तर्रा्ष्टिय क्षेत्रमा सक्रिय भएर काम गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री यादवले कुष्ठ रोगको उपचार गरी हाल निको भएर सामाजिक सेवामा लागि रहनुभएका सूर्यप्रसाद आचार्य र सीता विक तथा समाजसेवीहरु गोपाल हरि पोखरेल र अक्कलबहादुर तामाङलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रदेश नं ३ का सांसद लक्ष्मण लम्साल र भीमसेन खत्रीले पनि आफ्नो धारणा राख्नुभएको थियो । नेपालमा हाल कुष्ठ रोगका कारण ३५ हजार व्यक्ति अङ्गभङ्ग भएका र हरेक वर्ष तीन हजारभन्दा बढी नयाँ कुष्ठ रोगी फेला पर्ने गरेको तथ्याङ्क छ ।(रासस)