आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेका सत्तारुढ गठबन्धनभित्र भागबण्डाको बिषय पेचिलो बन्ने देखिएको छ ।
कति र कुन स्थानीय तह कुन दलले पाउने भन्ने बिषयमा पाँच दलीय गठबन्धनभित्र सहमति जुटिसकेको छैन । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चितवनको भरतपुर महानगरपालिका खोसाखोस भइरहेको छ ।
यसअघिको निर्वाचनमा कांग्रेसकै समार्थनले बाजी मार्न सफल भएको माओवादी केन्द्र फेरि दोहोरिन चाहन्छ । त्यसका लागि माओवादी केन्द्र जुनसुकै मूल्य चुकाउन तयार छ भन्ने कुरा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियाताले पनि पुष्टि गर्छ ।
पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक आज गृह जिल्ला चितवन पुगेर मेयर रेणु दाहालको नेतृत्वमा महत्वपूर्ण परिवर्तन भएको बताउनुभयो । महिलालले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारीता र सुशासन बढी देखिएको भन्दै उहाँले भरतपुरमामा गठबन्धनका तर्फबाट फेरि पुत्री रेणु दाहाललाई नै अघि सार्नुपर्ने घुमौरो अभिव्यक्ति दिनुभयो ।
माओवादी अध्यक्ष पचण्डले दुर्घटनाबाट देशलाई पाँच दलीय गठबन्धनले बचाएको भन्दै यसलाई निरन्तरता दिनुको विकल्प भएको बताउनुभयो । भरतपुरमा मेयरको दाबी नछाड्ने अडानमा रहेका कांग्रेस नेता–कार्यर्तालाई फकाउने शैलीमा उहाँले आ–आफ्नो ठाउँबाट लचिलो हुनका साथै त्याग गर्न सक्ने मानसिकता हुनुपर्ने बताउनुभयो ।
चितवनका कांग्रेसीहरूले भने तालमेल अस्वीकार गर्ने निर्णय गरिसकेका छन् । केन्द्रबाटै निर्णय गरेर भए पनि भरतपुर महानगरमा दाबी नछाड्ने माओवादीको अडान छ । तर केन्द्रबाट लादिने निर्णय समेत मान्य नहुने चितवन कांग्रेसका नेताहरु बताउँछन् ।
प्रचण्ड पुत्री दाहाल आफूहरुकै समर्थनबाट यअसघि भरतपुरको मेयर बनेको भन्दै यसपटक भने केन्द्रले लादेको तालमेल अस्वीकार गरेर भएपनि मेयरको दाबी नछाड्ने चितवन कांग्रेसका सभापति राजेश्वर खनाल बताउनुहुन्छ । भरतपुरमा माओवादी केन्द्रसँग भन्दा कांग्रेससँग बढी मतदाता रहेकोसमेत उहाँको दाबी छ ।
चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र पूर्व जिल्ला सभापतिहरुसमेत भरतपुरको दाबी नछाड्ने अडानमा छन् । भरतपुरसँगै अन्य स्थानीय तहमा पनि भागबण्डा मिलाउन गठबन्धनसम्बद्ध पालिका तथा जिल्ला कार्यसमिति छलफलमा छन् ।






















