युक्रेनविरुद्ध सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।
इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे । यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।
स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरे ।
दोस्रो हाफमा भने इंग्ल्यान्डले लगातार गोल गर्यो ।
४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए । लुक शको फ्रिकिक पासमा उनले हेडमार्फत गोल गरे । खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । उनले शकै पासमा हेडमार्फत गोल गरे ।
त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए ।
राइसको स्थानमा ५७ औं मिनेटमा मैदान पसेका उनले मासन माउन्टको कर्नरमा हेडमार्फत गोल गरे । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।
यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । एजेन्सी






















