काठमाडौं । नेपालका उद्योगी विनोद चौधरी अमेरिकी म्यागेजिन फोब्र्सको विश्वका अर्बपतिहरूको सूचीमा १ हजार ३४९ औं स्थानमा उक्लिएका छन् । उनी गतवर्ष १ हजार ५६१ औं स्थानमा थिए । चौधरीको सम्पत्ति १ वर्षमा २० करोड डलर बढेको छ । फोर्ब्स को प्रतिवेदनअनुसार उनको सम्पत्ति १ अर्ब ७० करोड डलर पुगेको हो । सन् २०१८ मा उनको सम्पत्ति १ अर्ब ५० करोड डलर थियो । फोर्ब्सले सन् २०१४ मा पहिलोपटक चौधरीलाई अर्बपति सूचीमा राखेको थियो ।

नेपालका एकमात्र अर्बपति हुन्, चौधरी । गतवर्ष पनि उनको सम्पत्ति २० करोड डलर बढेको थियो । सन् २०१७ मा उनको सम्पत्ति १ अर्ब ३१ करोड डलर थियो । उनी नेपालको व्यापारिक घराना चौधरी ग्रूपका अध्यक्ष हुन् । यो ग्रूपको नबिल बैंकमा बहुमत शेयर छ । फाइनान्स, बैंकिङ, सिमेन्ट, घरजग्गा कारोबार, शिक्षा, ऊर्जा, बायोटेक, खाद्यान्न व्यापार, विद्युतीय सामग्री, बीयर फ्याक्ट्री र होटलमा चौधरी ग्रूपको लगानी छ । उक्त ग्रूप अन्तर्गत सीजी फुड्सको उत्पादन वाईवाई चाउचाउको फ्याक्ट्री भारत, सर्बिया, साउदी अरेबिया र बंगलादेशमा विस्तार भइसकेको छ, जुन ३५ भन्दा बढी मुलुकमा रुचाइने ‘फास्ट फूड’मा पर्छ ।

२०१२ वैशाख १ मा जन्मेका चौधरीका हजुरबुबा भुरामलले तयारी पोशाकको व्यापार थालेका थिए, जसलाई विनोदका बाबु लुनकरणले अगाडि बढाए । लुनकरणले स्थापना गरेको अरुण इम्पोरियम नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर मानिन्छ । विनोदका तीन छोरा निर्वाण, राहुल र वरुण पनि बाबुकै पथमा छन् ।