प्रिय याेङहाङ, पाँचथर: “उज्यालोका मालीहरू” कविता संग्रह बजारमा सार्वजनिक भएको छ । साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस संग्रहमा एघार युवा कविका ११० कविता रहेको छ ।
नेपालका विभिन्न जिल्लाका युवा कविहरुको कविताहरुलाई समावेश गरेर संग्रह तयार परिएको हो । मोरङका प्रदिप योङहाङ लिम्बु, झापाका निरज दाहाल, इलामका रिजन मायालु, सुनसरीकी दिपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन सङ्ग्राम, चिनवनका शरद ऋतु काभ्रेका अदिप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता समावेश गरिएको छ ।
संग्रहमा छोटो आकारका तर ओज र घनत्व बोकेका सक्तिमय कविता समाविष्ट गरिएको सम्पादक पौड्यालले जानाएका छन् । उक्त पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो भने फागुन १० गते पुस्तकको विमोचन गरिने प्रकाशकले जनाएको छ । यसका लागि सबै कवि आ–आफ्नो जिल्लाबाट काठमाडौँ आउने व्यवस्था मिलाइएको शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले बताएका छन् ।
सम्पादक महेश पौड्यालका अनुसार यस संग्रहले नयाँ युवा कविहरुलाई सक्दो समावेश गर्न खाजेको र यसले कविता विद्यामा एउटा नयाँ आयाम थप्ने समेत आशा रहेको उनले बताएका छन् ।