२५ लाखको बीमाका लागि छोरीको हत्या गर्ने यि बाबु

काठमाडौं । रामकिशोर यादवले जेठ १९ मा ४ वर्षीया छोरीको नाममा २५ लाखको जीवन बीमा गराए । रौतहट मौलापुर नगरपालिका–६ का ३९ वर्षीया यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा बीमा बापतको पहिलो किस्ता करिब पौने २ लाख रुपैयाँ पनि जम्मा गरे । यहिबीचमा कसैले उनलाई भनिदियो ‘बीमा गरेको एक महिनामै यदि बिमकको निधन भएमा दुई गुणा रुपैयाँ फिर्ता पाइन्छ ।’ अर्थात ५० लाख । त्यसपछि उनको मनमा पैसाको भूत चढ्न थाल्यो ।

अब उनले चार वर्षीया छोरी लक्ष्मी राय यादवलाई तह लगाउन योजना बनाए । असार १६ गते राति सुतिरहेकी छोरीको घाँटी थिचेर हत्या गरे । शवलाई उनले नजिकैको पोखरीमा फ्याकिदिए । राति आमासँगै सुतिरहेकी छोरीलाई पोखरीको डिलमा लगेर नाकमुख थुनेर हत्या गर्दै पोखरीमा फालिदिए ।

छोरी फेला नगरेपछि उनको खोजी सुरु भयो । छोरी हराएको भन्दै उनले प्रहरीमा उजुरी दिए । प्रहरीले पनि आफ्नो तर्फबाट खोजतलासी गर्न थाल्यो । त्यही क्रममा १७ गते पोखरीमा शव फेला पर्‍यो । घर परिवारले पोखरीमा डुबेर मृत्यु भएको आकलन गर्न थाले । तर पोस्टमार्टम रिपोर्टले घाँटी थिचेर हत्या गरिएको तथ्य फेला पर्‍यो ।

घटनालाई गम्भीर रुपमा लिएको रौतहट प्रहरीले अन्ततः बालिकाको हत्यारा उनकै बाबुले गरे तथ्य पत्ता लगायो । घटनापछि प्रहरीले उनमाथि नजर राखेको थियो । उनका शंकास्पद गतिविधिका कारण उनी प्रहरीको शंकाको घेरामा परेका थिए । अनुसन्धानको लागि पक्राउ परका उनले अन्ततः छोरीको हत्या आफैंले गरेको स्वीकार गरे ।

प्रहरीले आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका यादवलाई शुक्रबार सार्वजनिक गरेको छ । आर्थिक अवस्था एकदमै कमजोर रहेको र एकैपटक धेरै पैसा कमाउने मनसायले छोरीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । ‘आर्थिक अवस्था एकदमै कमजोर छ । कोहीले बीमा गरेको एक महिनामै बिमकको निधन भएमा पैसा दोब्बर पाईने भने । त्यसपछि धेरै पैसा कमाउने योजनामा छोरीको हत्या गरे’ उनले प्रहरीलाई बयान दिए ।

रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नविन कार्कीले बीमाको रकम हात पार्नको लागि नावालिक छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए । नाबालिका लक्ष्मीको शव फेला परेपछि प्रहरी अनुसन्धान गर्दै जाँदा रामकिशोरले बीमाको ठूलो रकम हात पर्न आफनै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरिएको स्वीकार गरेको कार्कीको भनाई छ । पक्राउ परेका यादवलाई मुलुकी अपराध संहिता, २०८७ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल अदालत गौरबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । (स्राेत केन्द्रबिन्दु)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार