ट्वाईलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनें अत्यन्त फोहोर या दुरअवस्था जनाउने ठाँउ जनाउनु पर्दा ट्वाईलेट जस्तो छ्या भन्ने चलन छ ।

बच्चाले राम्रो नपढेमा ट्वाईलेट मा थुनिदिन्छु भन्ने धम्कीहरु त हामीमध्य धेरैले भोगेका अनि खपेका छौं । जिवनका लागि अपरिहार्य अनि सरसफाई को पर्याय शौचालयलाई किन यति सारो घृणा अनि बितृष्णाका रुपमा हेरिएको हो भन्ने तर्कना कहिलेकाँही लाग्ने गर्दछ ।
दुख्खद कुरा त के भनें नेपालका अधिकांश शहर या गाँउहरुमा व्यबस्थित शौचालयको सुबिधा छैन् ।

बाहिर निस्कन पर्दा एकफेर घरको शौचलयमा शौच अनि मुत्र खाली गरेर निस्कने हामी मध्य धेरैको बानी छ , यसो गर्नाले बाटोमा अफ्ठेरो पर्दैन हैन र ?

अस्पताल देखि सिनेमाघर सम्मा अधिकांश शौचलयहरु दुर्गन्ध हुने गरेको हामीले पाएका छौं भनें अहिले आएर शपीगं मल लगायतका ठाँउहरुमा भनें सुस्तरि शौचालय सभ्यता अनि सरसफाई बढोत्तरी भएकै हो । विश्वले यसै शौचालय अनि यसको महत्वलाई सबैसामो उजागर गर्दे हरेक बर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउदछ ।

सन् २०३० सम्मको दिर्घकालिन बिकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईका श्रोत र सुबिधा का साथ फालिनेपानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ । आउनुहोस् यसै शौचलयको परिवृती अनि बिकासक्रमका कुरा गरौं ।

सानैदेखि लगाउँ बानी, चर्पी जाउन हाम्रा नानी”
यो एउटा छन्दगत थेगो हो जुन नेपालमा झाडापखाला, हैजा अनि अन्य मलमुत्रबाट फैलनसक्ने रोगहरु अनि संक्रमणहरु रोक्नका लागि यस्ता उदाहरणिय कुराहरू प्रयोगमा ल्याइएको थियो । विकासको ईतिहास त्यति पूरानो छैन तर विकासका धेरै मापदण्डहरु परिवर्तन भएको देख्ने पुस्ताहरु अझै जीवितै छन् ।

मान्छेहरुले सभ्यताका क्रमसँगै आफ्ना रहनसहन अनि सरसफाईका मापदण्ड दुरुस्त राख्न धेरै परिवर्तन र विकास गरेका छन् । ढुङ्गे युगबाट आजसम्म आईपुग्दा हाम्रो दिनचर्यासंग विभिन्न अानिवानी, चालचलन र अभ्यासहरु थपिंदै आएक छन् । शौचालय पनि तिनैमध्येको एक हो । शुरुशुरुमा खोलाका किनार, खेतबारी या पोखरीका डिलहरूमा शौचगर्ने मान्छेहरुले विस्तारै एउटा छुट्टै सानो कोठालार्इ शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् ।

विश्वप्रसिद्ध यात्री मार्कोपोलोले आफ्ना साथी रस्टीसेलोलाई लेखेको आत्मबृतान्त या यात्रा संस्मरणमा त्यसबखतको चिनिया सभ्यतामा चर्पी र कागजी पैसाको प्रयोगका बारेमा ब्याख्या गरिेको पाइन्छ । आज हामीहरु विभिन्न प्रकारका शौचालयहरु प्रयोग गर्दछौ, कुनै कुर्सिजस्तो बसेर शाैच गर्नमिल्ने, कुनै पुरानै खालको पैताला टेकेर गरिने ।

गाँउघरमा सेफ्टी ट्याङ्क या रिङ्ग हालेर बनाइएको शौचालयहरुको प्रचलन अझै छ । शौचालयलाई फोहोर ठाँउका रुपमा हेरिने गरिएपनि शरसफाइमा वर्तमान सभ्यता र विकाशमा भएका प्रयोगहरूका कारण अब फोहर शौचालय हैन अाफू बस्ने कोठाभित्रै संक्रमण रहित सफा र अाकर्षक शौचालय हामी घर घरमा हेर्न सक्छाैं । हरेक विहान सामान्यतया हामी सबै शौचालय जान्छौं । दिनभरिमा एउटा मानव सबैभन्दाधेरै जाने एकमात्र ठाउँनै शौचालय हो ।

शौचालयको प्रयोगपछी नछुटार्इ गर्नुपर्ने पहिलो काम भनेको साबुनपानीले हात धुने र साबुन नभएमा खरानीपानीले धुनुपर्ने कुराहरु पनि विभिन्न सञ्चार श्रोतहरूमार्फत् जस्तैः टिभी, रेडियोबाट प्रचार प्रशार गर्ने गरीएको छ । अझैपनि शौचालय प्रयोग गरिसकेपछी पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरु सार्वजनिक शौचालयहरुमा लेखिएको पाइन्छ, यसअर्थमा शौचलय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बनगर्न जरुरी छ ।

अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिव १०जना मध्य एकजना संसारको मान्छेले अझैपनि शौचलयमा शौचगर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएके छ ।
नेपालमा विस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो शहरीकरणको नमूना जिल्लाहरूमा नगर विस्तारका सोंचहरूमा सार्वजनिक शाैचालय किन प्राथमिकतामा पर्दैन, भएको किन उचित सरसफार्इ तथा व्यवस्थापन छैन ?

शुरुशुरुमा बनाइएको शौचालयमा भने धान या काठ राखेर शौच भने बाहिर गर्न जाने चलनलार्इ अब नयाँपुस्ताले चिर्दै गएको त छ तथापि सार्वजनिक शौचालयको अवस्था दर्दनाक छ । शौचलयको प्रयोगकालागि शौचालय नभएको घरमा छोरी नदिने देखि सामाजिक वहिष्कारसम्म गर्ने ह्वीम श्रृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले व्यापक भूमिका खेलेका छन् ।

तर नेपालका विकसित शहरहरुमै पनि सहज सार्वजनिक शौचालयको व्यवस्था छैन जसका कारण धेरै अप्ठेरो पर्नेगर्दछ । कतिपय ठाँउमा त सार्वजनिक शौचलयको शूल्क यति महङ्गो छ कि शायद संसारभरमै सबै भन्दा धेरै पैसा तिरेर मलमुत्र त्याग गर्ने हामी नेपाली नै हौं कि भन्ने भान हुन्छ ।

यसपाला भारतीय सरकारको रचनात्मक कार्य अनुरुप चर्चित अनिनेता हरु लाई राखेर ट्वाईलेट एक प्रेम कथा नामक चलचित्र नै बनाइयो, मनोरञ्जन संगै जागरण पनि गरिएका यस्ता कार्यह्रु नेपालमा पनि अनुसरण गरिन जरुरी देखिन्छ ।
घरघरमा शौचलयको सही उपयोगका कुराहरु जानकारी दिन जरुरी छ ।

विदेशीहरुले ट्वाइलेट पेपरले शाैच सफा गर्दछन् अनि फ्लश गरेर बगाउँदछन् भने हामी अधिकांश नेपालीहरु पानीले धुने र बगाउने शौचालय प्रयोग गर्दछौं, दुवै तरिका सहि हो । प्रयोग गर्ने आआफ्नै तरिकाहरु हुन्छन् तर सरसफाई महत्वपूर्ण कुरा हो ।

मुख्य कुरा आउने पुस्ताहरुलाई शौचालय फोहोर ठाँउ हो भन्ने भावना विकास हुन नदिउँ, शौचालय सफा गरेर कोही सानो हुँदैन र यसलाई सफा गरेर संक्रमणरहित बनाउनुको विकल्प छैन भन्ने जानकारी र सन्देशहरु हरेक वर्ग, लिङ्ग, जात जाति, समूदायसम्म पुर्याउनु जरूरी छ । याद राखौं सफा शौचालयको सहि प्रयोग पनि सभ्य समाजको एउटा अभिन्न अङ्ग हो ।

यो लेख हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।