काठमाडौं- १५ बर्ष अघि आर्थिक वर्ष २०६०/६१ मा नेपालमा एक जनामा मात्र पुष्टि भएको डेंगुबाट पछिल्लो ४ महिनाको अवधीमा ११ हजार भन्दा बढी प्रभावित बनेका छन् ।

शुरुमा प्रि–मनसुनमै सुनसरीको धरानमा देखा परेको डेंगुको महामारि रोक्न स्वास्थ्य मन्त्रालयले पर्याप्त सर्तकता नअप्नाए कै कारण यो बीचमा ६ जनाको ज्यान गएको छ।

सामान्यतः चिसो बढेपछि नेपालमा लामखुट्टेको टोकाईको त्रास कम हुन्छ । तर एडिस एजेप्टाइ र अल्बोपिक्टस जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको सन्त्रास भने चिसो बढ्दा समेत उस्तै छ ।

विगतका बर्षहरुमा, फाट्ट–फुट्ट मात्र देखिएको यो रोगको संक्रमणले यो बर्ष महामारीकै रुप लिएको छ । त्यसमा पनि जलवायु परिवर्तन तथा वायु र जलप्रदुषणका कारण लामखुट्टेमा पहाड चढ्ने तथा जाडोमा समेत बांच्न सक्ने क्षमता विकास भएकाले यो समस्या जटिल बनिरहेको विज्ञहरुको बुझाई छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसार अहिले पनि डेंगुको संक्रमण र आशंकामा उपचारका लागि आउने विरामीको संख्या घटेको छैन । डेंगु परिक्षणका लागि दैनिक औसत ४० जना विरामी अस्पताल आउने अस्पतालले जनाएको छ ।

यस बाहेक टेकु अस्पतालमा यो वर्ष डेंगुसँगै मुसा र कुकुरबाट लाग्ने कीटजन्य रोग स्क्रब टाइफसका विरामीको संख्या पनि बढेको छ । तथ्यांक अनुसार गत असाज १५ गते चितवनमा एकै दिन ९९ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको थियो ।

अहिले पनि चितवन लगायतका तराईका जिल्लामा स्क्रप टाईफस र डेंगु संक्रमणको संभावना उस्तै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउन १ गते देखि असोज ६ गतेसम्म विभिन्न ६१ जिल्लाका करीब ७०० जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो ।

जुन मुसाको कानमा समूह बनाएर बस्ने चिगर माइट अर्थात किर्नाले टोक्दा सर्छ । यसले ओरेन्सिया सुसुगा–मुसी नामक जीवाणु संक्रमण गराउने र स्क्रब टाइफस हुने चिकित्सकहरु बताउंछन् । यो पनि सरुवा रोग हो र यसको लक्षण पनि डेंगु जस्तै मिल्दोजुल्दो हुन्छ ।

स्वास्थ्य सेवा विभागका अनुसार केही वर्ष यता मुलुकमा नसर्ने रोगको महामारि संगै झाडापखाला, हैजा, फुड पोइजिनिङ, भाइरल ज्वरो, लेप्टो–स्पारोसिस, मलेरिया, भाइरल हेपाटाइटिस जस्ता सरुवा रोगको प्रकोप समेत बढ्दै गएको छ ।

तर रोग नियन्त्रण र सतर्ककताका निम्ति सरकारले पर्याप्त जनशक्ति व्यवस्थापन गर्न सकेको छैन । त्यसैको परिणाम, चिसो मौषम शुरु भईसक्दा पनि लामखुट्टेको टोकाईबाट सर्ने डेंगु संक्रमीतको चाप नघटेको हो ।