काठमाडौँ – नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटर हडप्न खोजेको विरोधमा प्रदर्शन चर्कदै गएको छ । हिजाे पनि राजधानी काठमाडौँसहित विभिन्न जिल्लाका शहरमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका भातृ संगठनका साथसाथै सत्तारुढ दलका युवा विद्यार्थीहरुले पनि सडक तताएका छन् । काठमाडौँको लैनचोरस्थित भारतीय दुतावास अगाडि सत्तारुढ दलका कार्यकर्ताले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्नुका साथै भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् ।

कोणसभामा बोल्दै अनेरास्ववीयूका संयोजक ऐन महरले भारतीय विस्तारवादका विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि हिजाे काठमाडौँसहितका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ।

काठमाडौँमा आयोजित विोध प्रदर्शनपछिको कोणसभामा केन्द्रीय सदस्य मनोज बैद्यले भारतले नेपाली भूमि फिर्ता नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले सीमा रक्षाका लागि नेपाल सरकारले पनि कुटनीतिक पहल गर्न नसकेको टिप्पणी गर्नुभयो।

यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

उहाँले भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तिमा हस्ताक्षर गर्ने अधिकारीको नाम समेत नलेखिएबाट सरकार दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न गम्भीर नदेखिएको टिप्प्णी गर्नुभयो ।

यता चौतर्फी दबाबपछि भारतीय नयाँ नक्साबारे समान धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् । यस्तै प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।

(radionrn)