दशै, तिहार, छठ लगायत पर्वहरुले गाँसेर गएका रोमाञ्चक अनि उल्लासमय पर्वहरुको समापनसंगै ठूला पर्वहरू पनि घट्दै गएका छन् । यसबिच हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता वन्द भएको विगुलकारुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।

हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले पनि सबैभन्दा ठूलो अर्थात ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, आजको दिन नै हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान उठ्नुहुन्छ भन्ने जनविश्वाश रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी यस वनस्पतीलाई आङ्गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।

बैदिक सनातन सस्कारमा तुलसी पूजा को ठूलो महत्व छ । हजारौं बर्षदेखि सनातन सस्कारीहरु प्रातकालमै उठेर तुलसीमा पानी चढाएर अनि नमन गरेर मात्र आआफ्नो दैनिकीमा लाग्ने गरेका छन् । जन्म, मृत्यू देखि हरेक सनातन सस्कारमा तुलसी को बिरुवा अनि पातको महत्व हुन्छ ।

तुलसी पात हालेर अनि भगवानलाई अर्पण गरेर मात्र भोजन फलाहार आदि सेवन गर्ने चलन अझै पनि कैयन घर अनि परम्परामा बिधमान छ । आँगनको छेउको तुलसी मोठ बिवाह ब्रतबन्ध लगायत मृत्यूशैया सम्मका लागि पवित्र स्थान मानेर उपयोग गरिने चलन छ । तुलसीको फुललाई सुकाएर राखेर प्रयोग गरिन्छ, यी फुललाई मञ्जरी भनिन्छ । त्यस्तै तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठ जस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मानिन्छ ।

पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पतिा रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छ । त्यस्तै श्रिमद्ध भागवतको ३ को ५ को १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।

भोजनलाई सदैव तुलसीको पात राखेर मात्र सेवन गर्ने भगवान श्रि कृष्णलाई तुलसीसंग जोडिएका प्रसंगहरु धेरै छन् । गौतमीय तन्त्र अनुसार भक्तहरुले हत्केला भरिको पानी र तुलसीको पातमात्र सफा हृदयले अर्पण गरेमा श्रि कृष्णको कृपाले सम्पूर्ण फल प्राप्त हुने महिमा छ । स्कन्द पुराण्ले पनि तुलसी को पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ ।

औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ ।

तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ । अब त खेतमा धानका वाला पनि लहलहाउन थालिसके, नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यसवर्षको नयाँ अन्नको औपचारीक प्रयोग गर्ने दिन पनि हो ।

आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ । विष्णु भगवानलाई नारायणका नामले पनि पूजिन्छ र यीनै नारायण र काठमाण्डौ उपत्यकाको एउटा परम्परागत र परापूर्वकालिन सम्बन्धको समेत आज यहाँ चर्चा गर्न जाँदैछौं ।

परापूर्वकालमा काठमाण्डौ शहरमाथी भगवान विष्णुको अनुकम्पा रहिरहोस भनी उपत्यकाको चारैतर्फको कुनामा विष्णुको प्रतिमा राखिएको हो जसको प्रतापका कारण विष्णुको अनुग्रह काठमाडौ शहरमा हरेक पिढी दरपीढि कायम रहने सामाजिक मान्यता रहेको पाइनछ । काठमाडौको पश्चिममा इचङ्गु नारायण, पूर्वमा चाङ्गु नारायण, उत्तरमा विशखुं नारायण अनि दक्षिणमा शेष नारायणका रुपमा विष्णुले काठमाण्डौलाई हेरिरहेको जनविश्वाश छ ।

पहिले पहिले हरिवोधनी एकादशीमा भक्तहरु विष्णु प्रतिमा रहेको आफूलाई पायक पर्ने मन्दिरमा खाली खुट्टा हिँडेर सूर्य उदाँउदा देखि अस्ताँउदासम्म पूजापाठ गरेर बस्ने चलन थियो । यसक्रममा भक्तजनहरु उपत्यकाको चारै नारायण एकैदिनमा हिँडेर पुग्ने पनि गर्दथे भन्ने कथन छ । यसरी हिँडेर चारै नारायण पुग्ने तिर्थालुहरु अन्त्यमा फर्पिङ्गको शेष नारायणमा पुगेर आफ्नो तिर्थाटन समापन गर्ने गर्दथे ।

शेषको अर्थ अन्त्य भन्ने हुन्छ र नारायण दर्शनको समापनविन्दु पनि त्यहीं हुने गरेको भनाई छ । यसरी चारवटै नारायणको दर्शनार्थ पुग्नसक्ने भक्तालुहरुकालागि पाटनको कृष्ण मन्दिरको छेउमा चारनारायण मन्दिरमा उपत्यका वरिपरिका चारै नारायणको प्रतिमा राखिएको र सहज रूपमा दर्शन गर्ने व्यवस्था गरिएको हो ।

उतिबेला मानिससँग धेरै समय र भक्तिकालागि समय भएकाले पनि दिनभरि मन्दिर परिसरमा बस्ने गर्दथे र साँझ परेपछी फर्किने चलन भएको उपत्यकामा अझैपनि वृद्धवृद्धाले बताउने गर्दछन तथापि अहिले पनि यि नारायणहरुमा भक्तजनहरुको प्रशस्तै भिड हरिबोधिनी एकादशीको दिन देख्न सकिन्छ ।

यस बाहेक नेपालभर छरिएर रहेका भगवान विष्णुका मन्दिर अनि तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको आज ब्यापक भिड रहने गर्दछ ।

नमोः नवः तुलसी कृष्ण प्रियशी
कृष्ण राधा सेवा को सबै अभिलासी
हरिवोधनी एकादशीको शुभकामना ।

तुलसी विवाह विधि र विशेषता

देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।

कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ ।

सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको यसै दिन तुलसीको विवाह विष्णु भगवानसंग भएको थियो, शालिग्राम वा पिपलसंग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह हो ।

यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र विष्णु भगवानको पूजन सहित तुलसी विवाहगरी व्रत वस्ने परम्परा रहेको छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगनगरी सजाएर चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ । दियो, कलश, गणेश सहित सबै देवी-देवताहरुको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पणगरि प्रसाद स्वरूप न्वागी खाने प्रचलनपनि रहेको छ ।

पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नम: भन्दै पाद्य जल, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दिप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ, त्यसपछि पहेंलो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ र एउटा नारिवल, दक्षिणा सहित भगवान् शालिग्राम हातमा लिएर तुलसीजीको सात पटक परिक्रमा गर्नुपर्दछ तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ र यसदिन विष्णुभगवानको भजन किर्तन गरी रातभरी जागराम बस्ने चलनपनि रहेकोछ ।

यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकरको मनोकामना प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । अस्तु ।।

विश्व रेडियोग्राफी दिवस

हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स-रे अथवा विकिरण भनेर बुझ्दछौं र आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ ।

धेरैजनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रुपमा लिएको पाइन्छ, हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफर देखि हाम्रो एक्स-रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधूनीक एक्स-रे उपकरणहरु सञ्चालन गर्ने प्राविधिकहरु यस प्रविधिको उदाहरणीय सारथी बनि सक्रिय छन् ।

आजको दिन विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा लिइन्छ । एक्स-रे ले हाम्रो शरीर भित्रका हड्डिहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउँदछ, फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणालीभित्रका अङ्गहरुको तस्बिर खिचेर जाँच्न मिल्दछ भने एक आर आई ले हाम्रो शरीरका तन्तुहरुको 2D र 3D नक्शानै तयार गर्दछ । त्यस्तै एनजिओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुकासाथै तिनीहरुमा सहज रक्तसञ्चार भए-नभएको कुरा पत्ता लाग्दछ ।

अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुकाबारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरिरहरूका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन प्रयोग गरिन्छ ।

साथै यसको गलत प्रयोगबाट गर्भमा रहेको बच्चा छोरा हो वा छोरी हो भन्ने पत्ता लगाएर छोरी रहेका गर्भहरुलाई गर्भपतन गराएर गर्भ तूहाउने चलन बढ्दैगएपछि दक्षिण एसियाका केही देशहरुमा लिङ्ग निर्धारणमा रोक पनि लगाइएको छ, नेपालमा पनि यो कार्य दण्डनीय छ।

रेडिएशन थेरापीमार्फत् अबुर्द रोगी (क्यान्सर)का विरामीहरुलाई उपचारात्मक रूपमा प्रयोग पनि गरिन्छ । रेडिएशन थेरापीबाट विरामीको शरीरमा आयोडिन रेडिएशनका मात्राहरु प्रदान गरिन्छ र यस्ता उपचारात्मक पद्धतीले धेरैको जीवनरक्षा गर्न सफल भएको छ ।

यसो भन्दै गर्दा रेडियोग्राफीका सबै राम्रा पक्षहरूमात्र छन् भन्ने होइन यसका विभिन्न नकारात्मक पक्षहरु हामीले विर्सन हुँदैन । यसको नियमित सम्पर्कमा अाउने जो कोहिलार्इ स्वास्थ्य समस्या समेत हुन सक्दछ ।

आजको दिन ति तमाम् रेडियोग्राफरहरुकालागि पनि सर्मपित छ जो दिनरात हाम्रो स्वास्थ्य उपचारकालागि आफू अत्यधिक रेडिएशन क्षेत्रमा उभिइरहेका हुन्छन् । रेडियोग्राफरहरुको स्वास्थ्यलार्इ ध्यानमा राखि स्वास्थ्य संस्थाहरूमा रेडिएशनको उचित ब्यवस्थापन गर्नु अावश्यक छ ।

पहिले पहिले डार्करुमको अध्याँरोमा धुलाइने एक्स -रे हरु अब डिजिटल रुपमा सम्प्रेशण हुन थालेका छन्, स्वास्थ्य उपचारमा रेडियोग्राफिको महत्व र भूमिका बढ्दै गएको छ तथापि यससम्बन्धि अावश्यक थप चेतना बढाउनुपर्छ ।

हाम्रो पात्रो बाट