पाँचथर: १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । पेटमा ५ महिनाको बच्चा चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको चार दिन भयो । सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र ।

अस्पताल पेटीमा उनका ठूलोबुवा भने चिन्तित मुद्रामा छन् । घरि छोरीको छेउमा पुग्छन्, घरि बाहिर निस्कन्छन् । अस्पतालले छोरीको स्थितिबारे खुलेर नभनिदिएकाले उनलाई चिन्ता परेको हो ।

छोरीको उपचार कस्तो हुने र कति दिन अस्पताल राख्नुपर्छ भन्ने जानकारी नपाएर आफू बेचैनीमा परेको उनले बताए । अछामको रामारोशन–४ बाट काठमाडौं आएका उनलाई यहाँ सबै नौलो लागेको छ ।

छोरीको स्वास्थ्यको चिन्ता छँदै छ, सँगै आफूसँग भएको खर्च सकिन लागेकाले पनि पिरोलेको छ । वडाले दिएको २० हजार रुपैयाँ लिएर आएका उनले एम्बुलेन्सलाई मात्र १० हजार रुपैयाँ बुझाए । साथै आएका प्रहरीका एक जवानको खानाखाजा खर्च पनि बेहोर्नु परेको छ ।

‘बोल्न पनि नसक्ने बच्चीमाथि यस्तो घिनलाग्दो व्यवहार गर्ने मान्छेलाई जेल हाल्नुपर्ने हो,’ उनले भने, ‘पहिलोपटक काठमाडौं आएको, कता जाने, के गर्ने, केही मेसो पाउँदिनँ । म पो जेल परेजस्तो भएको छु ।’

घरको खेतीपाती र बस्तुभाउ के भए । बोल्न नसक्ने भाइबुहारीले कसरी घर सम्हाले होलान् भन्ने पिरलो छ । पीडित बालिकाका अभिभावक पनि सुस्त छन् । बोल्न जान्दैनन्, घरव्यवहार गर्न सक्दैनन् ।

घरव्यवहार, छोरीको उपचार, कानुनी लडाइँ आदि सबै ठूलोबुवाकै टाउकामा आइपरेको छ । ‘हामी खेतीकिसानी गरेर खानुपर्ने मान्छे, दिनभरि घरमा हुन्थेनौं । एक्लो देखेर कसले छोरीको यस्तो अवस्था बनाइदियो,’ उनले भने ।

एक महिनाअघि बालिकालाई कुकुरले टोकको थियो । उपचार गर्न लैजाँदा स्वास्थ्यकर्मीले गर्भवती भएको सुनाउँदा बोहरा परिवारको चैन हरायो । त्यही दिनदेखि कृष्णबहादुर वडा, कार्यालय, प्रहरी, मिडिया र अस्पतालको चक्करमा फसेका छन् । घरव्यवहार छाडेर छोरीको उपचार र न्यायका लागि भौंतारिइरहेका छन् ।

साभार कान्तिपूर बाट