काठमाडौं, कात्तिक १९ । जुनसुकै मुद्दामा कैद भुक्तान गर्दा होस् वा पुर्पक्षका लागि थुनामा पठाइँदा अधिकांशको रोजाइ डिल्लीबजार सदरखोर हुने गर्दछ ।

त्यसमाथि विभिन्न अभियोगमा थुनामा पुग्ने उच्च ओहोदाका व्यक्तिहरुको रोजाइमा पर्ने गरेको छ, डिल्लीबजार सदरखोर । नेपालको इतिहासमै पहिलोपटक राज्यको पाँचौं ठूलो पदमा पुगेका व्यक्ति निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि अहिले यही जेलमा पुगेका छन् ।

डिल्लीबजार सदरखोर नेपालका प्रमुख कारागारमध्ये एक हो । कारागार ऐन २०१९ अन्तर्गत् सन्चालनमा रहेको राणाकालमा निर्मित यो कारागार १५० वर्ष पुरानो भवनमा छ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको दरबार रहेको डिल्लीबजार सदरखोर १९०९ सालदेखि कारागारकोरुपमा प्रयोग हुँदै आएको हो । कुल चार रोपनी पाँच आनामा फैलिएको यो कारागारमा ‘ए’ र ‘बी’ गरी दुईओटा ‘ब्लक’हरु रहेका छन् । ठूल्ठूला १२ ओटा हलहरु छन् भने एउटा लाइब्रेरी र एउटा ठूलो भान्छा कोठा छ ।

राजनीतिक बन्दीहरु यो कारागारमा राखिने भएकाले विगतदेखि नै यो कारागार नै चर्चामा रहँदै आएको हो ।

राजनीतिक बन्दी होस् वा विभिन्न अभियोगमा सजाय काट्न पुगेका उच्च ओहोदाका व्यक्ति नै किन नहुन्, आखिर किन रोजाइमा पर्ने गरेको छ त डिल्लीबजार कारागार ?

‘एउटाचाहिँ यहाँको लोकेसन नै हो । दोस्रो भनेको काठमाडौंमा रहेका जेलहरुमध्ये सबैभन्दा कम संख्यामा कैदीबन्दी रहेको जेल डिल्लीबजार कारागार हो’–डिल्लीबजार कारागार प्रमुख अरुण पोखरेलले भने ।

उनले थपे–‘एउटा लोकेसनको कुरा, एउटा चुस्तताको कुरा र तुलनात्मकरुपमा शान्त रहेको कारणले गर्दा धेरैले रोज्ने कारणचाहिँ त्यो छ ।’

कारागारमा अहिले ६०१ जना कैदीबन्दी छन् । श्रीमतीलाई जलाएर हत्या गरेको अभियोगमा सशस्त्र प्रहरीका पूर्वडीआइजी रन्जन कोइराला यही कारागारमा छन् । २० वर्षको सजाय भुक्तान गरिरहेका उनले यहाँ ८ वर्ष बिताइसकेका छन् ।

यसैगरी, कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी ०७५ साल वैशाखदेखि यही कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका छन् ।

टीकापुर घटनामा दोषी ठहर उनी कारागारबाट सांसदको शपथ खाइ पुनः कारागारमै ल्याइएका थिए । र, उनलाई शपथ खुवाएका थिए, हाल यही कारागारमा जबर्जस्ती करणी उद्योगको मुद्दामा पुर्पक्षका लागि थुनामा पुगेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ।

यसैगरी, सुडान घोटालमा दोषी ठहर नेपाल प्रहरीका पूर्वप्रमुख रमेशचन्द ठकुरी २०७६ साल असार १९ गतेदेखि यही कारागारमा छन् । उनलाई सर्वोच्च अदालतले एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

महरा र पूर्वप्रहरी प्रमुख ठकुरी ‘ए’ ब्लकमा र चौधरी र कोइराला ‘बी’ ब्लकमा रहेका छन् ।

कारागारमा सबै कैदीबन्दीलाई एकैसाथ सामूहिकरुपमा समान व्यवहारका साथ राख्ने गरिएको छ । कसैलाई पनि कुनै विशेष सुविधा वा व्यवस्था नगरिएको कारागार प्रशासनको भनाइ छ ।

कारागारको नियमअनुसार उनीहरुलाई पनि अन्य कैदीबन्दीहरुसरह औषधि उपचार, खान–बस्ने सुविधा उपलब्ध गराइन्छ । दैनिक ६० रुपैयाँ र ७०० ग्राम चामल दिइने व्यवस्था छ ।

थप सुविधाकारुपमा भने वर्षमा दुईजोर कपडा र दुई वर्षको अवधिमा सिरक, डस्ना पनि दिने गरिन्छ ।

भौतिक संरचना र व्यवस्था जे–जस्तो भएपनि यो कारागार विगतदेखि नै ‘भीआइपी’ बन्दीहरुको पहिलो छनोटमा भने पर्दै आएको छ । इमेज खबरबाट