दोषी भएमा आफ्नै पार्टीका नेतालाई पनि उन्मुक्ति दिन नहुने भन्दै काँग्रेसका युवा नेताहरुले दोषीलाई कारबाहीको माग गरेका छन् ।

१४ व्यक्तिको हत्या गरेको आरोप लागेका रौतहट २ का सांसद मोहम्मद आफताब आलमलाई घटनाको छानबिन गरी दोषी पुष्टी भए कानुनअनुुसार कारबाही हुनुपर्ने माग उनीहरुले गरेका हुन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु डा. चन्द्र भण्डारी, गगनकुमार थापा, धनराज गुरुङ, प्रदिप पौडेललगायतले दोषीलाई संरक्षण गर्ने पक्षमा काँग्रेस कहिल्यै नउभिने स्पष्ट पार्नुभएको छ ।

अनुसन्धानबाट निर्दोष या दोषी ठहर हुने कानुनी प्रक्रियालाई सबैले सघाउनुपर्ने उहाँहरुले सामाजिक सञ्जाल र संचार माध्यम मार्फत् आग्रह गर्नुभएको छ ।

काँग्रेस सांसद आलमलाई आइतबार प्रहरीले आफ्नै निवासबाट पक्राउ परेको विरोधमा हिजो र अस्ती रौतहटमा कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेपछि काँग्रेस नेताहरुले छानविनमा अवरोध नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।

प्रवक्ता शर्माले आलम पक्राउ प्रकरणको निस्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुने कांग्रेसको केन्द्रीय धारणालाई रौतहट कांग्रेसले पनि अनिवार्य अनुशरण गर्ने उल्लेख गर्नुभएको छ ।

अर्का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले निस्पक्ष छानविन गरी सवैलाई आम नागरिक सरह कारबाही गर्न माग गर्नुभएको छ ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पनि कानुन अनुसार छानबिन र कारबाही हुनुपर्ने गर्नुपर्ने भन्दै पात्र र परिस्थिति हेरेर धारणा बन्दैन र बदलिँदैन भन्नु भएको छ ।

आलमलाई २०६४ सालको चुनावका बेला १४ जनाको हत्या गरेको आरोप लागेको छ । उनलाई अदालतमा मुद्धा चलाउनका लागि प्रहरीले छानविन तथा बयान प्रक्रिया अगाडी बढाइरहेको छ ।

स्राेत radioNRN