पाँचथर ।। अध्यक्ष पदकोलागी निर्वाचन हुने जिल्लाको फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नो उम्मेद्धारको टुङ्गो लगाएको छ ।

नेपाली काँग्रेस फाल्गुनन्द गाँउपालिकाको आईतबार बसेको बैठकले जिल्ला सचिव बृजहाङ आङ्देम्बेलाई अध्यक्षको उम्मेद्धार बनाउने सर्बसहमतिले निर्णय गरेको हो । यो संगै आङ्देम्बेलाई अध्यक्षको उम्मेद्धार बनाउन जिल्लामा सिफारिश गरिएको छ ।

‘सर्बसहमतिले बृजहाङ आङ्देम्बेको नाम सिफारिस भएको छ,’ जिल्ला सभापति नरेन्द्रकुमार केरुङले भने ‘अब जिल्ला समितिले उहाँलाई आधिकारिक रुपमा उम्मेद्धार घोषणा गर्नेछ ।’ निर्वाचन आयोगको कार्यतालिकालाई हेरेर काँग्रेसले आधिकारिक रुपमा उम्मेद्धार घोषणा गर्ने तयारी गरेको हो ।

फाल्गुनन्द गाउँपालिकामा यो भन्दा अगाडी नेपाली का‌ंग्रेसकै अमर कुमार नेम्वाङ अध्यक्ष हुनुहुन्थ्यो । गएको बर्ष उहाँको निधन भएका कारण यस गाउँपालिकामा अध्यक्षको निर्वाचन हुन लागेको हो ।

यता राप्रपाले समेत भर्खरै अध्यक्षको उम्मेद्धारको टुङ्गो लगाएको छ । कमल थापा नेतृत्वको राप्रपा पाँचथरबाट क्षेत्र नं. २ का पार्टी उपाध्यक्ष ससुहाङ (सुजन ) चेम्जोङलाई उम्मेद्बार बनाइएको उक्त पार्टीका नेता तेजकुमार कुरुम्वाङले जानकारी दिनुभयाे ।

उप निर्वाचनको मिती नजिकिदै गर्दा दलहरुले चुनावी गतिविधी समेत बढाएका हुन् ।