२५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नइबाट विशेष विमानमार्फत काठमाडौंका लागि प्रस्थान गरेका छन् । भारतीय समयह अनुसार दिउँसो १:३० बजे रास्ट्रपति सी चेन्नइबाट नेपालको राजकीय भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

यस हिसाबले सी यति बेला उडानमा छन र केहि बेर मै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने छन।

यो पनि/ चिनिया राष्ट्रपति सीको स्वागत गर्न ठाउँ ठाउमा राष्ट्रसेवक कर्मचारी

चीनका राष्ट्रपति सी चिनफिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन् । दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा स्वागत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो ।

उहाँले अतिविशिष्ट व्यक्तिको आगमनमा कर्मचारीले सधैँ स्वागत गर्ने बताउनुभयो । निजामती, विभिन्न संस्थान, सुरक्षाकर्मीलेसमेत सीको स्वागत गर्नेछन् ।

राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलमा पुग्नुहुनेछ । त्यहाँ जाने क्रममा उहाँलाई सडकमा उभिएर स्वागत गरिनेछ ।

यसैगरी उक्त रुटमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीको फोटो राखेर स्वागत गेट बनाइएको छ । सीको स्वागतका लागि विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथलीलगायतका ठाउँमा फूल र गमला राखिएको छ । रासस

यो पनि/ चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण: अन्तर्राष्ट्रिय विमानस्थल पाँच घण्टा अवरुद्ध हुने

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा अवरुद्ध हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज एक नोटम (नोटिस टु एयरमेन) जारी गर्दै राष्ट्रपति सीको आगमन र बिदाइको समयमा विमानस्थल प्रभावित हुने जनाएको हो ।

विमानस्थलका अनुसार आज साढे दुई घण्टा र आइतबार साढे दुई घण्टा गरी जम्मा पाँच घण्टा विमानस्थलको उडान प्रभावित हुनेछ । शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको छ । सो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडान प्रभावित हुनेछन् ।

अन्तरराष्ट्रिय उडानका लागि पार्किङ सीमितताका कारणसमेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको विमानस्थलले जनाएको छ । प्रभावित उडानको व्यवस्थापनका लागि उक्त उडानका दिनमा विमानस्थल २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

संशोधित उडान तालिका र चेकइन समयको जानकारी सम्बन्धित वायुसेवा कम्पनीबाट प्राप्त गर्न सकिनेछ । साथै संशोधिन अन्तर्राष्ट्रिय उडान तालिका विमानस्थल कार्यालयको वेबसाइटमा हेर्न सकिने जनाइएको छ । रासस

यो पनि /चिनियाँ राष्ट्रपति सी सवार सडकमा प्रधानमन्त्री ओलीद्वारा सडकको अवलोकन

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिनुभएको छ ।

सरकारले सो क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । सोबारे जानकारी लिन प्रधानमन्त्री ओली आज बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्कनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले भ्रमणका कार्यसूचीलगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको अवस्था बुझ्नुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ सङ्गीत शुक्रबार श्रवणसमेत गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणका लागि राष्ट्रपति सी आज अपराह्न काठमाडौँ आउँदै हुनुहुन्छ । रासस

यो पनि /राष्ट्रपतिको सीको भ्रमण: बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास

चिनियाँ राष्ट्रपति सी चिनफिङले भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु दुई दिनअघि दिनुभएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य हुने उल्लेख गर्नुभएकाले पनि लुम्बिनीप्रति आकर्षण थपिएको हो ।

राष्ट्रपति सीले बुद्ध धर्मको प्रचारप्रसार, प्रवद्र्धनसँगै लुम्बिनीको विकासमा चिनियाँ भूमिकाका विषयमा दिनुभएको सन्देशबाट पनि चिनियाँको नेपालमा अब प्रमुख गन्तव्य लुम्बिनी बन्नसक्ने बलियो सम्भावना देख्न सकिन्छ । राष्ट्रपति सीको नेपाल भ्रमण सिङ्गो मुलुकसँगै बुद्ध जन्मस्थल लुम्बिनीका लागि थप महत्वपूर्ण हुने देखिएको छ ।

यसको प्रमुख कारण करीब १६ सय वर्षअघि चिनियाँ महान् भिक्षु फा हियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेर संयुक्तरूपमा बौद्ध धर्मका शास्त्रपद अनुवाद गरेका भन्दै बुद्ध धर्मको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।

उहाँको यस्तो सन्देशले नेपाल र चीनबीचको हजारौँ वर्ष पुरानो सम्बन्धको महत्वलाई थप उजागर गरेको स्पष्ट देखिन्छ ।

यसका साथै राष्ट्रपति सीले महान् भिक्षु हुएन साङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको वर्णन आफ्नो यात्रावृत्तान्त लेखेको समेत उल्लेख गर्नुभएको छ ।

उहाँले लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको र हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिले एकअर्काको देश भ्रमण गरेको स्मरण गर्नुभएको छ ।

राष्ट्रपति सीले भ्रमण अघि दिनुभएको सन्देशमा चीन–नेपाल पहाड र नदीले जोडिएका युगौँदेखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपतिको आजदेखि शुरु हुने नेपाल भ्रमणले विशेष महत्व राख्ने भएकाले उहाँको भ्रमणको चर्चा उत्सर्गमा पुगेको हो । राष्ट्रपति सी चिनफिङले गर्ने राजकीय भ्रमण नेपालका लागि गर्वको विषय बनेको छ । यो भ्रमण नेपाल र चीन दुवै देशका समाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध थप अभिवृद्धि गर्न महत्वपूर्ण मानिएको छ ।

उहाँको यो सन्देशले चिनियाँका लागि पर्यटकीय, औद्योगिक र व्यावसायिक लगानीको प्रमुख छनोट नेपाल बन्ने अपेक्षासमेत गरिएको छ । प्रदेश नं ५ मा त्यसमा पनि लुम्बिनीप्रति चिनियाँको चासो बढ्दो छ ।

प्रदेश नं ५ को विकासका लागि चिनियाँको यस क्षेत्रमा भ्रमण र प्रदेशका विभिन्न तहका व्यक्तिको चीनमा भ्रमणका कार्यक्रम र अनुभव आदानप्रदान बढ्दो अवस्थामा रहेकाले पनि चिनियाँ यस क्षेत्रप्रति आकर्षित रहेको मान्न सकिन्छ ।

प्रदेश सरकारको तर्फबाट करीब दुई महीनाअघि मात्र चिनियाँ सरकारको निमन्त्रणामा विभिन्न प्रान्तको भ्रमणबाट फर्कनुभएका उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँसँगको छलफल र अन्तक्र्रियामा उनीहरुको लुम्बिनीमा लगानी गर्न निकै आकर्षित रहेको बताउनुहुन्छ।

उहाँले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा यस क्षेत्रमा होटल, व्यवसायमा चिनियाँ लगानी भित्रिने र यसका लागि प्रदेश सरकारको तर्फबाट लगानीको वातावरणका लागि आवश्यक वातावरण निर्माण गरिने बताउनुभयो । प्रदेश सरकारले उनीहरुलाई लुम्बिनी क्षेत्रमा धार्मिक, पर्यटन प्रवद्र्धनमा लगानी बढाउन आह्वान गरेको उहाँ बताउनुहुन्छ ।

लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकको तथ्याङ्क हरेक वर्ष बढ्दो छ । चिनियाँ बुद्ध धर्म र लुम्बिनीप्रति निकै नै प्रभावित भएकाले उनीहरुको गन्तव्य लुम्बिनी हुने गरेको छ ।

लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म १०५ देशका एक लाख नौ हजार ८९ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यसमध्ये चिनियाँको सङ्ख्या १३ हजार ७९५ रहेको छ । यो सङ्ख्या लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटकको तथ्याङ्कमा चौथो स्थानमा रहेको देखिन्छ ।

लुम्बिनी आउने पर्यटकको सङ्ख्या वार्षिक करीब २४ हजारभन्दा बढी छ । पर्यटक आगमनका हिसाबले यो सङ्ख्या तेस्रो वा चौथो स्थानमा रहे पनि चिनियाँ पर्यटकको खर्च गर्ने क्षमता बढी रहने गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव इञ्जिनीयर सरोज भट्टराई बताउनुहुन्छ ।

लुम्बिनीको विकासका लागि चिनियाँको चासो बढ्दै गएको छ तर सरकारका तर्फबाट समन्वय र कार्यान्वयमा अलमल जस्तो अवस्थाले चिनियाँ लगानी सोचे जस्तो अझै भित्रिन नसकेको उहाँको बुझाइ छ ।

सीको नेपाल भ्रमण र यसअघि उहाँले दिनुभएको सन्देशमा लुम्बिनीको महत्वमा देखाउनुभएको चासोले लुम्बिनीले पर्यटन विकासमा ठूलो उपलब्धि हासिल गरेको बताउनुहुन्छ ।

नेपाल भ्रमणअघि राष्ट्रपति सीले दिनुभएको सन्देशमा चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष, २०२०’ को पूर्ण समर्थन गर्दै र अझ बढी चिनियाँ नागरिकलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्ने भ्रमण वर्ष २०२० प्रदेश नं ५ का सहसंयोजक पर्यटन व्यवसायी माधव नेपाल बताउनुहुन्छ ।

ठूला र शक्तिशाली राष्ट्रका राष्ट्रपतिबाट भ्रमण वर्षमा आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने सन्देश दिनुले नै भ्रमण वर्षका लागि सुखद् र सकारात्मक भएको उहाँको भनाइ छ ।

योसँगै लुम्बिनी प्रति राष्ट्रपति सीको सन्देशले आगामी दिनमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सुखद् हुने अपेक्षा गर्न सकिने सहसंयोजक नेपाल बताउनुहुन्छ ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा अब हामीले लगानी गर्ने र बाह्य लगानी भित्र्याउने र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यकता रहेको भन्दै वातावरण बन्नसकेमा लगानीको कुनै समस्या उहाँ बताउनुहुन्छ ।

नेपालको उत्तरी छिमकी देश चीनका राष्ट्रपतिको आजदेखि हुने नेपाल भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउनेसँगै नेपालको आर्थिक विकास, बुद्ध धर्मको प्रचारप्रसार भइ यहाँको पर्यटन प्रवद्र्धनमा यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

(रासस)