असोज २०: दसैं भन्नेबित्तिकै रातो टीका र पहेँलो जमरा सँगसँगै जोडिएर आउँछ। मान्छेहरू सम्भव भएसम्म आफैंले विधिपूर्वक जमरा राख्छन्, नभए समूहिक वा बजारबाट किनेर भए पनि पहेँलो जमरा लगाउँछन्।

तर, जमरा नै किन? अरू वनस्पतिले किन काम चल्दैन?

वर्षौं वर्षदेखि दसैंमा जमराको आँकुरा पलाइरहँदा यसको आफ्नै इतिहास ओझेल परेको छ। वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठलाई पनि यो विषयले पर्याप्त चर्चा नपाएझैं लाग्छ।

उनका अनुसार जौ भनेको पहिलोपटक खेती गरिएको अन्नबाली हो। ’खाद्यान्नको स्रोत भेटिएको खुसीमा सम्मानपूर्वक शिरमा सिउरिने चलन बसेको हुनसक्छ,’ श्रेष्ठले जमरा संस्कृतिको इतिहास उत्खनन् गरे, ‘हिमाल, पहाड, तराई जहाँ पनि उमार्न र फलाउन सकिने यो खाद्यान्न एकताको सूत्रधार पनि हो।’

हाम्रा वरिपरि भेटिने मिथका पछाडि कुनै न कुनै वैज्ञानिक आधार रहेको श्रेष्ठ बताउँछन्। हाम्रा पुर्खाले जमराको प्रयोग किन गरे भनेर खोजी गर्न थालेपछि जौमा औषधीय गुण पनि हुन्छ भन्ने पत्ता लागेको श्रेष्ठको ठहर छ। तर, सबै किसिमका जमरा वा जौको बिरुवामा उस्तै मात्रामा औषधीय गुण पाइँदैन। यसको आफ्नै विधिविधान र तौरतरिका छन्।

‘जौको कलिलो मुना वा जमरामा औषधीय गुण हुन्छ,’ श्रेष्ठले भने, ‘जमराले जरा हालेको हुँनुहुदैन, साथै प्रकाशको सम्पर्कमा आउनु हुँदैन।’

हामीले राखेको दस दिने (औसतमा नौदिने) जमरामा पनि औषधीय गुण भरपुर मात्रामा हुने विश्वास गरिन्छ। घाम वा प्रकाशको सम्पर्कमा आएको बिरुवाका हकमा यो मान्यता लागू नहुन सक्छ।

धेरै दिन पुरानो र प्रकाशको सम्पर्कमा आइसकेपछिको जमरामा भने औषधीय गुण क्रमशः कम हुँदै जान्छ। जमराजस्तो शुद्ध भनेर बुझाउन र चराचर जगतमा घामको महत्त्व सम्झाउन पनि यी उदाहरण पर्याप्त हुने श्रेष्ठ बताउँछन्।

‘मैले त आफ्ना बच्चालाई घामको महत्त्वबारे बुझाउन जमराको उदाहरण दिने गरेको छु,’ श्रेष्ठले आफ्नै उदाहरण दिए।

हिन्दु ग्रन्थहरूमा जौलाई अन्नको राजा पनि भनिएको छ। जौमा भएको पौष्टिक तत्व अरू अन्नको तुलनामा बढी हुनाले बिरामी हुँदा पनि यसको पिठो र परिकार खुवाउने चलन छ। यस्ता विविध विशेषताका कारण जौको महत्व जोगाइराख्न पूजाअर्चना गर्ने र शिरमा लगाउने गरिएको हुनसक्ने श्रेष्ठको अनुमान छ।

सामान्यतया सात दिनभित्रको जमरा उपयुक्त हुन्छ। संस्कृतमा यसलाई ’यवरस’ भनिन्छ। सात दिनभित्रको जमराको जुस आन्तरिक र नसर्ने रोगका निम्ति लाभदायक हुने विज्ञानले समेत पुष्टि गरेको छ।

संस्कृतिविद तेजेश्वरबाबु ग्वंग दसैं र यसका कर्मलाई कृषिसँग जोडिएको विधि मान्छन्। उनी जमरालाई श्रृंगारका रूपमा पनि व्याख्या गर्छन्।

जमरा शब्द संस्कृतबाट आएको बताउँदै उनले भने, ‘संस्कृतको यवराबाट नै जमरा भएको हो। जमरा सुनौलो हुन्छ, विजयपछि दुर्गाको पूजाअर्चना र शोभा शृंगारका लागि जमरा प्रयोग अनिवार्य गर्न थालियो।’

‘यो चाड हाम्रो खेतीपातीसँग जोडिएको छ। जौ उमार्नु एक कृषि कर्म हो। हिमाल, पहाड, तराई जहाँ पनि सजिलै फलाउन सकिने जौ अर्थात् जमराले हाम्रो भौगालिक विविधतालाई बाँधेको छ। एकताको सूत्र भएकै कारण विशेष पर्वमा जमरा लगाउने चलन थालिएको हुनसक्छ,’ उनले भने।

’नारी सृष्टिका स्रोत हुन्, त्यस्तै सृष्टि जोगाउन जौले सहयोग गर्यो। त्यसैले दुर्गा पूजा हुँदा जौलाई पनि सम्मान दिन थालिएको हुनसक्छ,’ उनले भने, ‘हरियो त हामीले वर्षभरि प्रयोग गरिरहेकै हुन्छौं, सबै बोटबिरुवा हरियो हुन्छ, तर घरभित्र विधिपूर्वक राखिएको जमरा सुनौलो र अरूभन्दा फरक देखिन्छ। त्यसैले पनि जमराले विशेष महत्व पाएको हो।’

आदर, सम्मान, प्रेम, स्नेह, हर्षोल्लास, शृंगार सबैका लागि जमरा महत्वपूर्ण हुने र पहेँलो वा सुनौलो जमराको शोभा भिन्न हुने तेजेश्वरबाबुको तर्क छ।

नयाँ(नयाँ अन्नको आविष्कारसँगै जौको खेती कम हुन थालेको छ। त्यसैले, अचेल जौको सट्टा गहुँ वा मकैको बिरुवालाई पनि जमराका रूपमा प्रयोग गर्न थालेको पाइन्छ। ‘केही नहुनुभन्दा कुनै एक अन्नको जमरा बनाउन उपयुक्त हुने ठानेर मान्छेले मकै र गहुँ प्रयोग गरेका हुन्,’ ग्वंग जमरा–संस्कृति अर्थ्याउँछन्।

यस विषयमा श्रेष्ठको फरक मत छ।

‘मकै बाहिरबाट नेपाल भित्रिएको अन्नबाली हो। मैले त्यसलाई अतिथि बिरुवा भन्ने गरेको छु, मेरो भाषामा भन्दा मकैको जमरा लगाउनु एक किसिमले अतिथि सम्मान पनि हो। हाम्रो छाक टर्छ र प्रमुख अन्न भएर बसेको छ भने आजको दिनमा मकैलाई पनि सम्मान गर्नुपर्छ,’ मकैको महत्व बुझाउँदै श्रेष्ठले भने।

स्राेत सेताेपाटी