सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी—ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज (बुधबार) त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाली टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम राति १०ः१५ बजे सिल्क एयरबाट टिम सिंगापुर जाने जानकारी दिनुभयो ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने टी—ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ । नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । प्रतियोगिताको लागि नेपालले गत बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ ।

आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।

नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ ।

यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा अटाएका छैनन् । नेपाली टोलीको कप्तानी पारस खड्का र उपकप्तानी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने छ ।

टोलिमा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ , सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल,आरिफ शेख,सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा र रोहित कुमार पौडेल रहेका छन् । radioNRN बाट