विवाहको पहिलो रात म विस्तारामा मेरो पतिको प्रतीक्षामा थिएँ। त्रसित, आतंकित र भयभीत। मैले मेरो डायरी खोलेँ र लेखेँ, ‘आज मैले पराइसँग विवाह गरेँ।’ अनि झटपट सिरानीमुनि लुकाएँ। मेरो पूरै शरीर प्रकम्पित थियो।

‘अब के गर्ने?’ मैले आफैंलाई सोधेँ, ‘के म कुमारी जस्तो अभिनय गरूँ ?’

‘तर उसले पत्ता लायो भने? कि केही दिन पर्ख भनुँ? तर ऊ रिसायो भने नि ?’

कोठाको ढोका खुल्यो र मेरो स्वास र धड्कन झन् झन् बढ्न थाल्यो। मतिर आइरहेको उसको पदचापको ध्वनी बढ्दै जाँदा मेरो शरीरमा काँडा उम्रिन थाले।

मैले भुइँतिर नै आफ्ना आँखा गाढेँ र केही नभएको जस्तो अभिनय गर्न खोजेँ। मैले उसलाई नहेरे पनि ऊ ढोकामा नै उभिइरहेको देखेँ।

‘गौरी’, उसले मायालु स्वरले बोलायो। तर मैले उसको दृष्टिमा आफ्नो दृष्टि जुदाउने दुस्साहस गरिनँ।

‘गौरी’, म अर्को कोठामा सुत्नेछु है’, उसले भन्यो।

मेरो आमाले भनेको कुरा मभित्र प्रतिध्वनित भयो, ‘यदि तिम्रो श्रीमान् तिमीसँगै बस्न चाहँदैन भने तिमी असफल श्रीमती ठहरिनेछौ।’

उसले त्यति भन्दा पनि मैले उसलाई एकपटक पनि हेरिनँ। बस् मौनलाई धारण गरेर बसेँ।

‘तिमीलाई किन भनेर सोध्न मन लागेन?’, अलि हाँसो मिश्रित मुद्रामा उसले भन्यो।

मैले उसको आँखामा केही सेकेन्ड हेरेँ। अनि फेरि भुइँतिर नै आँखा दौडाएँ।

‘तिमी मेरी श्रीमती हौ’, उसले भन्यो र केही क्षणको विरामपछि आफ्नो वाक्य पूरा गर्यो, ‘नगरबधु हैनौ।’

मेरो दिमाग सहीसँग काम नगरेको बेला उसको कुरा मैले केही पनि बुझ्न सकिरहेको थिइनँ।

‘जब तेरो लोग्नेले भनेको केही बुझ्दैनस् मुख बन्द गरेर बस्नू नै तेरो लागि उत्तम हुन्छ,’ मेरो बाबाले भनेको कुरा मभित्र प्रतिध्वनित भयो।

सदाझैं उहाँले भनेको कुरा मैले खुरूखुरू मानेँ। चुप लागेर।

‘हामीले एक अर्कालाई नचिनिकनै एउटै विस्तारामा बस्यौं भने तिमी र वेश्यामा केही फरक हुनेछैन। हामी त्योदिन मात्र सँगै सुत्नेछौं जुन दिन हामी दुवै यो चाहन्छौं। म एक अजनवीसँग यौन सम्बन्ध राख्न तयार छैन।’ उसले भन्यो र बत्ती निभायो। तर केही सेकेन्डपछि नै उसले बत्ती बाल्यो र हाँस्दै भन्यो, ‘यो चैँ नसम्झ है म एक समलिंगी हो भनेर।’

म भित्रैबाट निकै त्रसित भएनि यो कुराले मलाई फिस्स हाँस्ने बनायो। ऊ पनि मधुर मुस्कान छर्दै बत्ती निभाएर अर्को कोठामा सुत्न गयो। म अझै फिस्फिसाउँदै थिएँ। मेरो दुलहीको श्रृंगार र पहिरन नफेरिकनै म विस्तारामा पल्टिएँ। थाहै नपाइ मेरो नयनको कुनाबाट पानी बिस्तारै गालाको बाटो हुँदै तल ओर्लियो।

मान्छेहरू भन्थे खुसी भएको बेला आँसु खस्दा उनीहरूलाई अचम्मित तुल्याउँछ रे। यसले उनीहरूलाई केही अर्थ नराख्ला तर मलाई यसले अझ बढी महत्व राख्यो। खुसी भएको बेला आँसु झर्नु एउटा उद्भुत अनुभूति हुने गर्छ मेरा लागि।

म बिहान सबेरै उठेँ र चियानास्ता बनाउन तयार भएँ।

भान्सामा जाँदा उसले केही पकाइरहेको मैले देखें। मलाई थाहा छैन म कति भयभीत देखिएको थिएँ। मेरो यो मुद्राले उसलाई पनि भयभीत तुल्यायो। ऊ म नजिक दौडिएर आयो र सोध्यो, ‘तिमी ठीक त छौ ?’ उसको यो प्रश्नमा मेरो लागि चिन्ता मिश्रित थियो।

‘तपाईं किन भान्सामा?’ मैले रून्चे आवाजमा सोधेँ।

ऊ एकछिन हराएको जस्तो भयो र मैले के भन्न खोजेको बल्ल बुझ्यो, ‘हेर गौरी, म पाककलाको सौखिन हुँ। तिमीलाई जहिले मन लाग्छ भान्सामा आएर पकाउन पाउँछौ र मलाई पनि जहिले मन लाग्छ यो भान्सामा आएर पकाउन सक्छु । बुझ्यौ तिमीले ?’

‘गौरी,’ यस पटक उसको आवाज अलि कडा सुनियो, ‘तिमी मेरी श्रीमती हौ। कुनै दासी हैनौ।’

‘यदि तिमीले तिम्रो श्रीमानलाई भान्सामा टेक्न दियौ भने तिमी असफल श्रीमती ठहरिनेछौ,’ विवाहअघि मेरो आमाले दिएको यो अर्तिले मलाई गिज्यायो।

म बिस्तारै बिस्तारै मेरो पराइ लोग्नेसँग खुल्दै जान थालेँ। तर मेरो पूर्वप्रेमी बारेको कुरो मैले अझै गोप्य नै राखेँ।

एक दिन उसले मलाई उसको अफिसमा रहेको समस्या सुनाउँदै केही महत्वपूर्ण सुझाव माग्यो। म अक्क न बक्क भएँ। त्यसपछि मेरो बाबाले आमासँग यसरी नै सुझाव मागेको सम्झिएँ।

आमाले जवाफ दिँदा त्यस दिन मेरै अगाडि उहाँले आमालाई झापड हान्नु भएको थियो। अनि मतिर हेर्दै रिसाउँदै भन्नु भएको थियो, ‘तेरो श्रीमानले तँलाई कामको बारे सोध्दा तँ साँच्चिकै जान्ने छेस् भनेर सोधेको हैन। मुख बन्द गरेर बस्नु नै तेरो लागि उत्तम हुन्छ।’

तर उहाँहरूले भन्नु भएको कुरा म यो घरमा आएदेखि नै गलत सावित भएको थियो। त्यसैले मेरो बुद्धि र बर्कतले भ्याएसम्म उसलाई सुझाव दिएँ। ऊ सुनिरह्यो।

म मेरो घर…, पख्नुस् मलाई सच्याउन दिनुस्….म मेरो माइतीमा हुँदा धेरै जसो समय रोएर नै बिताउँने गर्थें। यस घरमा पनि बेलाबेला आँसु झरिनै रह्यो। तर आँसु झर्ने कारण र अनुभव भने फरक थियो।

मभित्र एउटा फरक किसिमको आत्मविश्वास पैदा भएको पाएँ। म साथीहरूसँग बाहिर जानेबारे ऊसँग सोध्न कल्पना पनि गर्न सक्दिनँ थिएँ होला। तर मैले उसको आँखामा आँखा जुधाएर एक दिन सोधेको थिएँ, ‘ए हजुर, म दुई रातको लागि साथीहरूसँग बाहिर जान्छु नि है ? तपाईंलाई त्यस्तै परे मलाई फोन गर्नुहोला, म मिलाएर अलि छिट्टै आउनेछु र केही तलमाथि पनि गर्नेछैन।’

आमाले साथीहरूसँग मन्दिर जाने इच्छा प्रकट गर्दा बाबाले लिनुभएको त्यो रौद्र रूप म अझै सम्झन्छु।

ठीक त्यस्तै रूप उसले पनि धारण गर्यो। उसले मलाई दिक्क लाग्दो तरिकाले हेर्यो। ऊ प्रस्ट रूपमा रिसाएको जस्तो देखिन्थ्यो। पहिलो पटक म उसको अगाडि सर्वाङ्ग नग्न जस्तो महशुस गरेँ।

तर बिस्तारै मलाई थाहा भयो उसले मलाई सर्वाङ्ग हुँदा पनि नलजाउने सीप सिकाउन खोजेको रहेछ।

‘गौरी,’ ऊ पड्कियो, ‘मैले कति पटक भनिसकेँ, तिमी मेरी श्रीमती हौ। किन कैदीले जसरी मेरो इजाजतको प्रतीक्षामा हुन्छौ ? तिमी केबल मलाई जानकारी दिएर जान सक्छौ। विन्ती गर्न कुनै जरूरत नै छैन।’ यति भन्दै ऊ रिसाएर बार्दलीतिर गयो।

मेरा आमाबाले मलाई जन्माए, हुर्काए। तर म भर्खर बाँच्न थाल्दै थिएँ। उसले मलाई बाँच्न सिकाइरहेको थियो।

म ऊ भएतिर गएँ। ऊ बार्दलीबाट तल हेरिरेको थियो। उसले जस्तै बार्दलीको डन्डी समाउँदै तल हेर्दै भनेँ, ‘पख्नुस् न। म बिस्तारै सिक्दैछु।’

सम्भवतः पहिलो पटक मैले मेरो विगत कोट्याउँदै भनेँ, ‘मेरो आमाले मलाई के के गर्यो भने श्रीमतीको रूपमा असफल भइन्छ र बाबाले कुन कुन बेला मुख बन्द गर्दा नै उत्तम हुन्छ भन्ने कुराको लामो सूची दिनुभएको छु। त्यसैले म सिक्दैछु।

मैले कुनै मजाक गरेको त थिइनँ तर ऊ खित्का छोड्दै हाँस्यो र भन्यो, ‘मेरो हाँसो र यसअघिको व्यवहारको लागि माफी चाहन्छु। तिमी सिक्दैछौ भन्ने कुरोलाई म ख्याल राख्ने छु अबदेखि, यदि तिमीले पनि तिमी तिम्रो माइतीमा हैन तिम्रो आफ्नै घरमा छौ भनेर सम्झिन्छौ भने। गौरी, विगत भनेको विगत नै हो। यसलाई बिर्सिदेउ।’

उसले मलाई ढाडस दिँदै करिब एक सेकेन्ड उसको हातले मेरो पिठ्युलाई स्पर्श गर्यो।

यस घरमा मेरो प्रवेश भएपछिको यो नै उसको पहिलो स्पर्श थियो। यो वास्तवमै विशेष थियो। अनि जति उसले मलाई मेरो नामले सम्बोधन गर्थ्यो त्यति नै मलाई विशेष लाग्न थाल्यो।

मैले मेरा साथीहरूलाई घरमा बोलाउन थालेँ। कहिलेकाहीँ उसले हाम्रा लागि ल्याइदिएको वाइन पनि पिउँथ्यौ। म बाँच्न थालेको थिएँ। मेरा आमाबाले मलाई जन्म दिएर पनि केही दिएनन्। लाग्छ, एक जना पराईसँग बिहे गरिदिएर मलाई जीवनकै अमूल्य उपहार दिए उनीहरूले।

एक रात ऊ र म सँगै बसेर पिउँदै थियौँ। अचानक उसले मलाई सोध्यो, ‘तिमी सानो हुँदा ठूलो भएसी के बन्न चाहन्थ्यौ?’ म सुस्तरी बोलेँ, ‘म लेखिकाको रूपमा चिनिन चाहन्थेँ।’

मैले यति भन्दा उसको अनुहारमा जुन भाव र भंगी देखिएको थियो त्यो वास्तावमै अमूल्य थियो, जुन जिन्दगीमा म सायद कहिले पनि बिर्सिन सक्दिनँ। मेरो कुनै पनि उत्तरले यतिधेरै खुसी भएको मैले उसलाई कहिले पनि देखेको थिइनँ।

सायद उसको आँखा पनि रसाएका थिए। मलाई थाहा थिएन उनी पनि साहित्यकार बन्ने अभिलासा राख्थे तर समयले उनलाई कहिले पनि कलम चलाउन दिएन।

“के तिमी हामी दुवैको लागि फेरि लेख्न सक्छौ?“ उसले हर्ष र दुःख मिश्रित भावमा मुस्कुराउन खोज्दै भन्यो।

मैले टाउको हल्लाउन मात्रै सकेँ।

त्यस रात म धेरै रोएँ।

सायद यति धेरै त कहिले पनि रोएको थिइनँ होला, मेरो माइतीमा पनि। रोएको आवाज बाहिर निस्केला भनेर सिरानीले मुख छोप्दै रोएँ। मलाई थाहा थिएन म किन रोइरहेछु भनेर तर मलाई निकै जोडले चिच्याउन मन थियो। मैले उसको छायाँ मेरो कोठाको ढोका नजिक देखेँ। ऊ मलाई टाढैबाट हेरेर उभिइरहेको थियो।

म उठेँ, दौडेर उसको नजिक गएँ र चुम्बन गरेँ। उसलाई अंगालोमा बेरेँ र फेरि अनगिन्ती चुम्बनहरू बर्साउन थालेँ। बिस्तारै उसलाई मेरो विस्तारा नजिक तानेँ।

‘तिमीलाई साँच्चिकै यो वाइन अलि बढी नै त लाग्या हैन नि?’ उसले सोध्यो।

मैले नि उसँग आँखा जुधाउँदै सोधेँ, ‘तिमी पनि साँच्चिकै समलिंगी त हैन नि?’

उसले हाँस्दै भन्यो, ‘अब यो कुरा तिमी आफैं पत्ता लगाऊ।’ विस्तारातिर धकेल्दै उसले मलाई चुम्बन गर्यो।

‘पख,’ मैले उसलाई बीचैमा रोकेर भनेँ, ‘तिमीलाई केही कुरा भन्नुछ। म भर्जिन छैन।’

‘धत् !’ उसले हत्त न पत्त मबाट हात झिक्दै भन्यो, ‘मैले त तिमीलाई एच्आइभी एडस् लागेको छ भनेर भन्छौ कि भन्ने ठानेको।’

म खित्का छोड्दै हाँसें र उसलाई जोडले कसेर अंगालेँ। अनि सबै कुरा भयो ।

मैले मेरो पराइ लोग्नेसँग बिहे भएको साढे तीन महिनापछि यौन सम्बन्ध राखेँ। …पख्नुस् मलाई सच्याउन दिनुस्।…

मैले मेरो जीवनसाथीसँग साढे तीन महिनापछि शारीरिक सम्बन्ध गासेँ र ऊ वास्तवमै समलिंगी थिएन।

अर्को दिन म बिहान सवेरै उठेँ र उसलाई मेरो छेउमै मायालु पाराले चैनसँग सुतिरहेको देखेँ।

मैले मेरो सिरानी मुनिबाट डायरी निकालेँ जसमा मैले मेरो विवाह भएको पहिलो रात लेखेको थिएँ, ‘आज मैले पराइसँग विवाह गरेँ।’

अनि कलम उठाएँ र त्यसलाई पूर्णता दिएँ, ‘…र ऊसँग गहिरो प्रेम सम्बन्धमा परेँ।’

लेखक_ तेन्जिन चेडा (आइ म्यारिड अ स्ट्रेनजर)

अनुवादक_ गौरव लुइँटेल