साउन ३,२०७६: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फलफूल तथा तरकारी बजारमा अनुगमन गरेको छ। विभागले २ वटा टोली परिचालन गरेर शुक्रबार बिहान ४ बजेदेखि कालिमाटी र बल्खुको तरकारी बजारमा अनुगमन गरेको हो। असार अन्तिम सातादेखिको अविरल वर्षा र बाढीपहिरोको कारण देखाउँदै व्यापारीहरुले तरकारीको मूल्यमा अस्वभाविक वृद्धि गरेको देखिएपछि विभागको टोलीले अनुगमन गरेको हो।

विभिन्न स्थानबाट उपत्यकामा भित्रने तरकारी वर्षापछिको बाढीपहिरोका कारण सडक अवरुद्ध भएको र माग अनुसार आपूर्ति नभएको भन्दै व्यापारीहरुले तरकारीको मूल्य बढाएका थिए।कालिमाटी अनुगमनको नेतृत्व गरेका विभागका शाखा अधिकृत दीपकराज पोखरेलले अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले खरिद तथा बिक्री बिलबिजक जारी नगरेको भेटिएको जानकारी दिए।

‘बजारमा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि देखिएपछि विभागले अनुगमन गरेको हो। व्यापारीहरुले बाढीपहिरोकै कारण उपत्यकामा मागअनुसार तरकारी नभित्रिएपछि मूल्य बढेको भनेका छन्। हामीले खरिद–बिक्रीको बिलबिजक माग्दा धेरै व्यापारीसँग बिलबिजक नै देखिएन। बिलबिजक बिनै कारोबार गर्दै आएका व्यापारीलाई हामीले जरिवाना गरेका छौं,’ पोखरेलले भने।

अनुगमनका क्रममा विभागले कालिमाटी बजार भित्रका ८ र बल्खु बजार भित्रका ११ जना व्यापारीलाई ५ हजार देखि २० हजारसम्म जरिवाना गरेको छ। व्यापारीहरुले बिलबिजक जारी गरेको देखाउन नसकेपछि उनीहरुलाई स्पष्टीकरणका लागि विभागमा पनि बोलाएको पोखरेलले जानकारी दिए।

उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले एउटै बजारभित्र एउटै वस्तुलाई पनि फरक फरक मूल्यमा बेच्ने गरेको भेटिएको बताए। ‘एउटै बजारभित्र पनि वल्लो पसल र पल्लो पसलमा एउटै वस्तुको मूल्यमा धेरै अन्तर देखियो। अधिकांश व्यापारीले बिलबिजक नै जारी गरेको देखिएन,’ तिमल्सेनाले भने। (nepallive)