असार १,२०७६: सातवटै प्रदेशले आज आफ्नो बार्षिक बजेट ल्याउँदैछन् । सवै प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकाले प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन् ।

प्रदेश नम्बर १ ले गतवर्षकै हाराहारीमा बजेट घोषणा गर्ने भएको छ । चालु आर्थिक वर्षमा ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक गरेको प्रदेश नम्बर १ ले आगामी आर्थिक बर्षका लागी करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको हो ।

प्रदेश नम्बर २ ले करिब ३२ देखि ३४ अर्ब रुपैयाँ सम्मको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक बर्षका लागी २९ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश नम्बर २ ले करिब ४ अर्बको बजेट बृद्धि गर्दै बजेट ल्याउने तयारी गरेको प्रदेश योजना आयोगले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश नम्बर ३ ले सबैभन्दा धेरै ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । त्यस्तै गण्डकी प्रदेशले आगामी आर्थिक बर्षका लागी करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने गृहकार्य भएको छ ।

प्रदेश नम्बर ५ ले झन्डै २५ प्रतिशतले बजेट वृद्धि गर्ने गरी ३५ अर्ब हाराहारीको बजेट ल्याउन लागेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।अर्थ मन्त्रालयको जिम्मेबारी आफैसँग भएकाले प्रदेश पाँचको बजेट घोषणा पनि मुख्यमन्त्रीले नै गर्नुहुने भएको छ ।

कर्णाली प्रदेशले ३० देखि ३२ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशले सबैभन्दा सानो बजेट ल्याउने भएको छ । गतबर्ष २५ अर्ब रुपैंयाको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले अहिले करिब २९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने जनाइएको छ ।

(radionrn)