जेठ ३१,२०७६ दाङ– लमही नगरपालिका वडा नम्बर ३ स्थित बाल जनता माध्यमिक विद्यालयका ४० जना विद्यार्थीले प्रहरी कार्यालयमा एक दिन बिताएका छन्।

कक्षा १० मा अध्ययनरत उनीहरुले प्रहरी कार्यालयमा प्रहरीको काम गर्ने तौर तरिका र अपराध अनुसन्धानको विषयमा जिज्ञासा राखेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुरान मल्लले जानकारी दिए।

‘प्रहरीले गर्ने कामको बारेमा जानकारी दिएका छौँ। यसबाट विद्यार्थीमा प्रहरीसँग सहकार्य गर्ने भावनाको विकास हुन्छ’, मल्लले भने,‘बढ्दो यौनजन्य हिंसा, साइबर अपराध, लागुऔषध दुर्व्यसनी र ट्राफिक नियमका बारेमा जानकारी दिएका छौँ।’

नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरी कार्यालयमा एकदिन’ कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाई छ। ‘हरेक हप्ता ‘प्रहरीसँग एक दिन’ कार्यक्रम गरिरहेका छौँ’, वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंह भने,‘यसरी कार्यक्रम गर्दा प्रहरीले गर्ने कामलाई नागरिकले नजिकबाट बुझ्न पाउँदा हामीलाई सहयोग मिलेको छ।’

यस्तै गाउँघरमा खेतबारीमा उम्रिएको गाँजालाई युवाहरुले लागुऔषधको रुपमा सेवन गर्न थालेपछि प्रहरीले गाँजा नष्ट गर्ने अभियान समेत चलाएको छ। ‘नागरिकसँग फरक–फरक तहमा छलफल र सुझाव संकलन गछौँ। त्यहि क्रममा खेतबारीमा आफै उम्रिएको गाँजा चुनौति बन्न पुगेको सूचना प्राप्त भएपछि नष्ट गर्ने अभियान चलाएका छौँ’–वडा प्रहरी कार्यालय लमहीका प्रमुख सिंहले भने।

(रासस)