कार्डियोपल्मोनरी रिससिटेसन (सिपिआर) भनेको काम गर्न छोडेको मुटुलाई जगाउने तरिका हो। यो सिप जो कसैले पनि छोटो समयमा नै सिक्न सक्छ। यदि शरीरको बलले भेट्छ भने ९/१० वर्षदेखिका बालबालिकाले पनि यो सिप सिक्न सक्छन् र अरुको ज्यान बचाउन सक्छन्। यस्तो सिप एक आपसमा बाँडेर देशैभरि मुटु रोगले मर्नेको संख्यामा थोरै भए पनि कमी ल्याउन सकिन्छ।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार हाल विश्वमा मुटु रोगले सबैभन्दा बढी मान्छे मर्ने गरेका छन्। सबै प्रकारका क्यान्सर रोगबाट मर्नेको संख्याभन्दा मुटु रोगले मर्नेको संख्या बढी हुन आउँछ। हृदयघात (हार्ट अट्याक) भएर मानिसको मृत्यु भएको धेरै सुनिन्छ। तर कार्डियक अरेस्ट (मुटु फेल) भएर धेरैको मृत्यु भइरहेको हुन्छ।

हार्ट अट्याक र कार्डियक अरेस्टमा धेरै भिन्नता छ। हार्ट अट्याक हुँदा रक्तनलीमा रगत वा नराम्रो कोलेस्ट्रोलको कारणले प्लेक जम्न गई रक्तसंचार अवरुद्ध हुन्छ। फलस्वरूप मुटुको मांसपेसीमा अक्सिजन जान बन्द हुन्छ र मांसपेसी विस्तारै मर्न थाल्छ।

कार्डियक अरेस्टमा भने अचानक मुटुको विद्युत् सञ्चार अनियमित हुन्छ र धड्कन एकदमै बढ्छ। जसले गर्दा मुटु अनियन्त्रित भई अन्त्यमा मुटुले काम गर्न छोड्छ र मानिस बेहोस् हुन्छ। कार्डियक अरेस्ट हुनुका कारणमध्ये हार्ट अट्याक पनि एक हो।

गाउँघरमा धेरै सुन्ने गरिन्छ, ‘फलानो त बोल्दाबोल्दै गयो नि।’ तर के कारणले मृत्यु भयो भन्ने कुरा धेरैजसोलाई थाहा नै हुँदैन। हार्ट अट्याकमा प्रायःजसो लक्षणहरु (श्वास फेर्न गाह्रो हुने, बायाँ छाती बेस्सरी थिचे जस्तोगरी दुख्ने र त्यो दुखाइ घाँटी, चिउँडो र पछाडिको भागतिर सर्ने हुन्छ। साथै पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, चिट्चिट् पसिना आउने आदि) देखिने हुनाले अस्पताल पुग्ने र उपचार गर्ने समय हुनसक्छ। कार्डियाक अरेस्टमा भने प्रायः मानिस केही सेकेन्ड वा मिनेटमा नै बेहोस् हुन्छन्। यो डरलाग्दो रोगले समय, उमेर, ठाउँ केही पनि भन्दैन।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार धेरैजस्तो कार्डियक अरेस्ट अस्पताल बाहिर हुनेगर्छ। अमेरिका जस्तो विकसित मुलुकमा पनि कार्डियक अरेस्ट भएका ९० प्रतिशत व्यक्ति समयमा सिपिआर नपाएकै कारण मर्ने गर्छन् भने नेपालमा यसको संख्या अझ बढी हुनसक्छ। स्वस्थ मानिसलाई पनि अचानक कार्डियक अरेस्ट हुनसक्छ।

कार्डियक अरेस्टपश्चात् हरेक मिनेट बित्दै जाँदा बिरामीको बच्ने सम्भावना १० प्रतिशतले घट्दै जान्छ। १० मिनेटमा प्रायः बिरामी मरिसक्छन् वा बच्ने सम्भावना न्यून हुन्छ। त्यसैले यस्तो जोखिम अवस्थामा एम्बुलेन्स आएर बचाउनेभन्दा पनि तपाइँ–हाम्रै सानो प्रयासले बिरामीलाई बचाउने सम्भावना बढ्छ। रोई कराई गरेर समय खर्च गर्नुभन्दा भीडलाई हटाई संयम भएर सिपिआर दिन सक्यौं भने नै त्यो ठूलो उपलब्धि हुन्छ।

सिपीआर दिँदा हातले छातीमाथि सकेको बल लगाएर थिच्नुपर्छ। मुटुले गर्ने काम तपाइँ–हाम्रो हातले गर्नुपर्छ। त्यो थिचाइबाट नै मुटु र मस्तिष्कले अक्सिजन भएको रक्तसञ्चार पाउँछ र बिरामीलाई मर्नबाट बचाउन सकिन्छ।

तपाइँले घर, स्कुल, सडक, पसल वा जुनसुकै ठाउँमा हेर्दाहेर्दै कोही पनि व्यक्ति ढलेको देख्नुभयो भने सर्वप्रथम आफ्नो सुरक्षा हेर्नुहोस्। जस्तो बाढी–पहिरो, आगलागी, गोली चलेको ठाउँमा सिपिआर दिँदा जीवनको असुरक्षा हुनसक्छ। कसैले तपाइँलाई झुक्याएर आक्रमण गर्न खोजेको पनि हुनसक्छ। त्यसैले सचेत रहनुपर्छ।

सुरुमा त्यो व्यक्तिलाई नजिकै गएर काँधमा झक्झकाएर बोलाउनुस् यदि कुनै उत्तर आएन भने श्वास फेरेको वा नफेरेको हेर्नुहोस्। त्यसको लागि छाती तलमाथि छ कि छैन, नाक–मुखबाट हावा निस्केको छ, छैन हेर्नुहोस्। साथै नजिकै गएर सुन्नुहोस्, तपाइँले त्यहाँ जीवनको कुनै संकेत देख्नुभएन भने १० सेकेन्डभित्र नै बिरामीलाई सुरक्षित ठाउँमा राखेर सिपिआर दिन सुरु गर्नुहोस् र तुरुन्त एम्बुलेन्स पठाइदिनको लागि अनुरोध गर्नुहोस्। श्वासप्रश्वास दिँदा तरिका मिलाउन सकिएन भने समय मात्र बर्बाद हुन्छ र बिरामीलाई बचाउने प्रतिशत घट्छ। त्यसैले यस्तो आपतकालीन स्थितिमा हातले मात्र दिने सिपिआर बढी महत्वपूर्ण हुन्छ।

सिपिआर दिँदा पालना गर्नुपर्ने चरण
१. सर्वप्रथम तपाइँ एक्लै हुनुहुन्छ र तपाइँसग मोबाइल फोन छ भने आपतकालीन नम्बरमा फोन गर्नुहोस्। अर्को व्यक्ति नजिकै भए त्यो व्यक्तिलाई फोन गर्न लगाउनुहोस्।

२. बिरामीलाई भुइँमा उत्तानो पारेर राख्नुहोस्। छातीको कपडालाई छिटोछिटो खुला गर्नुहोस्।

३. त्यसपछि बिरामीको सामु टाउको र कम्मरको बीचमा दुवै घुँडा टेकेर, दुवै कुम सिधा पारी पहिलो हातको हत्केला छातीको बीचमा राख्नुहोस्। अब अर्को हात पहिलो हातमाथि राखी दुवै हातका औंलाहरु कस्नुहोस्।

४. अब तपाइँले सकेको बल लगाएर छातीको तह ५ सेमी वा २ इन्च तल दब्नेगरी छातीको बीचमा बिरामीलाई थिच्नुहोस्। यसरी थिच्ने क्रममा करङका हड्डीहरु भाँचिएलान् वा सिपिआर दिएको नमिल्ला भनेर पटक्कै नडराउनुहोस्। सिपिआर नदिनुभन्दा अलिकति मात्रै मिलाएर दिँदा पनि बिरामीको बाँच्ने सम्भावना बढ्छ। अब छातीको मध्यभागमा प्रत्येक मिनेट १००÷१२० का दरले एम्बुलेन्स नआउने बेलासम्म लगातार थिचिरहनुहोस्।

५. प्रत्येक थिचाइपश्चात छातीलाई माथि आउन दिनुहोस् ताकी मुटुले रक्तसञ्चार पाओस्। अर्को व्यक्ति सँगै भएमा पालो गरेर सिपीआर दिनुहोस् किनकी थकाइले दबाब भनेजस्तो नपर्न सक्छ।

६. अर्को महत्वपूर्ण र खुसीको पल भनेको यदि सिपिआर दिने क्रममा बिरामी चल्न, बोल्न सुरु गरेमा सिपिआर बन्द गरी देब्रे कोल्टे पारी सजिलो र सुरक्षित तरिकाले सुताउनुहोस् अनि एम्बुलेन्सको प्रतीक्षा गर्नुहोस्।

यस्ता बिरामीलाई सिपिआरपश्चात् अस्पतालमा कार्डियोभर्टर–डिफिब्रिलेटरको आवश्यकता पर्नसक्छ। थ्रोम्बोलाइटिक औषधि, कोरोनरी आटरी बाइपास सर्जरी, एनजिओप्लास्टी र स्टेन्ट राखेर रगतका धमनीहरु खुलाइन्छ र बिरामीलाई तन्दुरुस्त बनाइन्छ। समयमा सिपिआर दिएर बिरामीलाई हालको बाँच्ने प्रतिशतभन्दा ५० देखि ७५ प्रतिशतसम्म बढी बचाउन सकिन्छ।

एउटा फोनको ब्याट्री सकिँदा चार्ज गरिन्छ भनेजस्तै साधारण अर्थमा बुझाउनुपर्दा मुटु पनि एक प्रकारको ब्याट्री जस्तै हो। समयमा चार्ज भयो भने उपचारपश्चात् जस्ताको तस्तै हुनसक्छ। त्यसैले अरुलाई बचाउने जिम्मा तपाइँ–हाम्रो हातमा नै छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८ मा भनेअनुसार कसैको भलाइका लागि तत्काल कुनै पनि काम नगरी नहुने भएको, त्यस्तो व्यक्ति मन्जुरी दिन असमर्थ रहेको र मन्जुरी लिन अरु कोही आफन्त नभएको अवस्थामा निजको भलाइका लागि मन्जुरी बिना असल नियतले होसियारिका साथ काम गर्दागर्दै निजलाई कुनै हानी नोक्सानी पर्न गएमा त्यस्तो काम कसुर मानिने छैन।

यस्ता नियमको बारेमा जनमानसमा जानकारी गराउनु हामी सबैको कर्तव्य हो ताकि कसैलाई निर्धक्क तरिकाले सहयोग गर्न सकियोस् र आपतकालीन स्थितिले मर्ने मानिसको संख्यामा सुधार ल्याउन सकियोस्।

(अमेरिकामा नर्सिङ पेसामा रहेकी सुवेदी अमेरिकन हार्ट एसोसिएसनकी प्रशिक्षक हुन्)