काठमाडौं: काठमाडौँको कालोपुलमा एक युवतीमाथि बुधबार साँझ एसिड प्रहार भएको छ।

ती २० वर्षीया युवतीमाथि उनका पतिले एसिड प्रहार गरेको जानकारी प्रहरीले दिएको छ।

घटनामा संलग्‍न विष्णु भुजेललाई प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

काभ्रे दाप्चाका भुजेलले ती युवतीसँग दोस्रो विवाह गरेको प्रहरीले जानकारी दियो। भुजेललाई घटनाको केही घण्टामै काँडाघारीबाट पक्राउ गरिएको हो।

ती युवतीलाई उपचारका लागि चाबहिलस्थित ओम हस्पिटल लगिएको पनि प्रहरीले जानकारी दिएको छ।

पति एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

काठमाडौँको कालोपुल बस्दै आएकी २० वर्षकी युवतीलाई उनका पतिले बुधबार राति ९ बजेतिर एसिड प्रहार गरेका थिए ।

एसिड आक्रमणबाट गम्भीर घाइते भएकी युवतीलाई राति नै उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । सुरुमा आइसियुमा राखेर उपचार गरिएमा अहिले वार्डमा सारिएको अस्पतालले जनाएको छ । तत्कालका लागि खतराको अवस्था नदेखिएको उपचारमा संलग्न डा. अनुज राजकर्णिकारले देश सञ्चारलाई जानकारी दिएका छन् ।

डा. राजकर्णिकारले देश सञ्चारसँग भने, ‘बिरामीले बताए अनुसार घटना बुधबार राति ९ बजेतिरको हो । श्रीमानले एसिड प्रहार गरेको भन्नु भएको छ । उहाँका दुवै हात, छातीको अगाडिको भाग, घाँटीको भाग र अनुहारको तल्लो भागमा गम्भीर असर परेको छ ।’

डा. राजकर्णिकारले भने, ‘हामीले उपचार गरिरहेका छौँ । अहिले अवस्था स्थिर छ । तर यकिन अवस्था थाहा पाउनका लागि ४८ देखि ७२ घण्टा कुर्नै पर्छ । कुन केमिकल प्रयोग गरेर आक्रमण भएको हो भन्ने थाहा नहुँदा उपचारमा समस्या भएको छ ।’

विशेष गरि एसिड आक्रमणमा पोलेको घाउको गहिराई अनुसार जोखिमको आँकलन गर्न सकिने डा. राजकर्णिकारले बताए । त्यसका लागि प्रयोग भएको केमिकलको जानकारी भएमा त्यसले गर्न सक्ने असरको अनुमान लगाएर उपचार अघि बढाउन सहज हुने उनले बताए ।

तर उपचाररत युवतीको हकमा कुन केमिकल प्रहार भएको हो भन्ने थाहा भएको छैन । आफूहरुले निगरानी गरिरहेको र घाउको अवस्था कस्तो हुन्छ त्यो हेरेर मात्रै अघिको अवस्था वा खतराबारे बताउन सकिने डा. राजकर्णिकारले बताएका छन् ।

ती युवतीमाथि बनेपा बस्दै आएका उनका पति विष्णु भुजेलले बुधबार बेलुका एसिड आक्रमणा गरेको प्रहरीले जानकारी दिएको छ ।

(स्राेत देश सञ्चार)