१३ चैत: अर्वुदरोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन् । निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन् । तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहनुभएको छ । उहाँ क्यान्सर सचेतनामा समेत सक्रिय हुनुहुन्छ । सरकारी सेवामा रोगकै कारण उहाँ लामो बिदा बस्नु परेन । पौडेल अहिले डिभिजन वन कार्यालय चितवनका प्रमुख हुनुहुन्छ । यसअघि उहाँ नवलपरासी, मकवानपुर, चितवनमा वन अधिकृतका रूपमा काम गर्नुभएको थियो ।

नवलपरासीबाट छुट्टीका दिन चितवन आइरहनुहुन्थ्योे । उहाँमा पहिले क्यान्सरको लक्षण थिएन । “शुक्रबारको बिदामा घर आउँदा एकपटक निकै ज्वरो आयो”, विगत सम्झँदै उहाँ भन्नुहुन्छ, “निजी क्लिनकमा गएँ, सामान्य औषधि लिएर फर्के, तर पछिसम्म निको भएन ।” उहाँले धपेडीले बिरामी भएको अनुमान लगाउनुभयो । पछि पुनः परीक्षण गर्दा ‘रगतमा खराबी छ’ भनेर चिकित्सले भनेपछि चिन्ता बढेको अनुभव सुनाउनुहुन्छ । “ठूलै रोग लागेजस्तो पीडा भयो”, उहाँले भन्नुभयो, “नजिकै क्यान्सर अस्पताल थियो, त्यही गएँ ।” विपी मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षण भयो । “ल्याबको रिपोर्टले क्यान्सर भएको देखियो”, उहाँले भन्नुभयो, “बोनम्यारोनै ट्रान्सप्लाण्ट गनुपर्छ भनेर डा दामोदर गजुरेलले सम्झाउनुभयो ।”

मेडिकल अन्कोलोजीका डा गजुरेलले बेलैमा उपचार गर्न पटक–पटक सर्तक बनाउनुभयो । “यहाँ ट्रान्सप्लाण्ट सेवा थिएन, भारत नै जानुपर्ने भयो”, पौडेलले भन्नुभयो, “रोगबारे घरमा समेत भनिनँ, हिम्मत हारिनँ ।” रोग पहिचान भएका बेला उहाँ ३४ वर्षको हुनुहुन्थ्यो । विवाह गरेको चार वर्ष पुगेको थियो, छोरी थिइन् । घरव्यवहार पनि आफैँले हेर्नुपर्दथ्यो । अरुलाई लुकाए पनि दाइलाई रोगबारे सबै खुलाउनुभयो । “क्यान्सर लाग्यो भन्ने बित्तिकै डराउने समाज थियो, रोग लुकाउन बाध्य भएँ”, उहाँले सुनाउनुभयो, “तर, उपचार रोकिन, दुःख गरेरै भए पनि भारत पुगेर उपचार गराएँ ।” भारत जाने बेलामा बल्ल घरपरिवारले थाहा पाए । मुम्बइको टाटा अस्पतालमा पुनः परीक्षण भयो । बोनम्यारो ट्रान्सप्लाण्ट परिवारका सदस्यबीच ‘म्याच’ नभएपछि घर फर्किन बाध्य हुनुप¥यो । बोनम्यारो नपाए पनि उहाँले अनलाइनमार्फत औषधिको खोजीमा लाग्नुभयो ।

छ महीनाको खोजीपछि उहाँले म्याक्स फाउण्डेशनसँग सम्पर्क गर्नुभयो । फाउण्डेशनसँग औषधिका लागि फारम भर्नुभयो । फाउण्डेशनमार्फत त्यसको ६ महीनापछि निःशुल्क उहाँको नाममा ग्लिभेक भन्ने औषधि आइपुग्यो । उहाँ भन्नुहुन्छ, “नेपालमा पहिलोपटक क्यान्सरको औषधि ग्लिभेक खाने म नै हो । नेपालमा किनेर औषधि खान सक्ने अवस्था थिएन ।” त्यसरी संस्थाले ६ महीनासम्म उहाँको नाममा औषधि पठायो । त्यसपछि सन् २००४ देखि पाटन अस्पतालमै म्याक्सले औषधि पठाउन थाल्यो । अहिले उहाँले पाटनबाट औषधि लिने गर्नुहुन्छ । पौडेलले पाँच वर्ष ग्लिभेक, दुई वर्ष निलोटिनिब, डासाटेनिब हु्ँदै बोसाटेनिब सेवन गरिरहनुभएको छ ।

उहाँले भन्ने गर्नुहुन्छ, जति खाली बस्नुहुन्छ । खाली दिमाग सैतानको बास । काम गर्नुस् । नवलपरासी, चितवन, हेटौँडा हुँदै चितवनको डिभिजन वन कार्यालयका डिएफओ पौडेल अहिले ५४ वर्ष पुग्नुभयो । उहाँका अहिले एक छोरी, र श्रीमती हुनुहुन्छ । उहाँले जागिर खानुभएको पनि २४ वर्ष पुगेको छ । उहाँलाई हेर्दा कसैले रोगी देख्दैनन् । उहाँ सधैँजसो फिल्डमै जान मन पराउनुहुन्छ । निजामती सेवामा ५८ वर्षसम्म सेवा गर्ने प्रवाधन छ, अझै चार वर्ष देशको सेवामा सर्मपित हुन्छु ।

उहाँकै अगुवाइमा सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीले तीन प्रकारका औषधि वितरण गर्छ । फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ । यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौँ र भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा आउने गरेको छ । अस्पतालका अनुसार हाल ६३० ले सेवा लिइरहेका छन् । पौडेलले हप्ताको एक दिन बिदा पनि क्यान्सर अस्पताल भरतपुरमा गएर आफूजस्तै बिरामीलाई उत्प्रेरणा दिने काम गर्नुहुन्छ । “औषधिले बीचबीचमा काम गर्न छाड्छ”, पौडेल भन्नुहुन्छ, “काम गरेन भनेर आत्तिनु पर्दैन । खाइरहको औषधिले काम गरेन भने दोस्रो औषधि आएको छ ।”

क्यान्सरका अन्य बिरामीलाई उहाँले सधैँ भन्ने गर्नुहुन्छ, “रोग लाग्यो भनेर निरुतासाहित हुनुपर्दैन । चिकित्स र अस्पतालको सम्पर्कमा बस्नुस्, औषधि नियमित खानुस् । २० वर्ष होइन ४० वर्ष बाँचिन्छ ।” (रासस)