फिदिम नगरपालिकाको बजेट २०८०/८१, केही नयाँ प्रयास (टिप्पणी)

खविन लुइटेल

फिदिम नगरपालिकाले आ.ब. ०८०/०८१ को लागि ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपैयाको बजेट पारित गरेको छ ।

फिदिम नगरपालिका नगर सभाको १३ अधिवेशनमा नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले पेश गर्नुभएको उक्त बजेट नगर सभाबाट पास भएको हो ।

नगरपालिकाले बजेटको करिव २२ प्रतिशत रकम पूर्वाधार विकासमा खर्च गर्ने लक्ष्य लिएको छ । पूर्वाधार विकास तर्फ २१ करोड ४५ लाख ५९ हजार रुपैया रकम विनियोजन भएको छ । फिदिम बाहिरि चक्रपथ, कालापत्रे भएका सडक बाट वडा कार्यालय सम्मका सडको स्त्तरोन्नती, फिदिम बजारमा सडक बत्ति, फिदिम नगरपालिका भित्र फुसको छानो हटाउने लगायतका पूर्वाधारमा उक्त रकम खर्च गरिने छ ।

बजेटको ५४ प्रतिशत रकम खर्च गर्ने लक्ष्य राखिएको सामाजिक विकास तर्फ ५२ करोड ५७ लाख ३ हजार ५ सय २६ रुपैया विनियोजन गरिएको छ । उक्त रकमबाट लक्षित समुदायमा सचेतना र नेतृत्व विकास, कानुनी सहायता तथा परामर्श, बालमैत्री वडा घोषणा, ढाका बुनाइ तालिम लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।

बजेटको लगभग ७ प्रतिशत रकम आर्थिक विकास क्षेत्रमा ७ करोड ४४ लाख ५ हजार रुपैया बजेट नगरपालिकाले विनियोजन गरेको छ । जसबाट एक घर एक करेसावारी, विपन्न संग नगरप्रमुख, सुर्यमुखी खेती, ग्राउण्ड पानी रिचार्ज लगायतका कार्यक्रमहरु सचालन हुनेछन् ।

बजेटको १९ प्रतिशत रकम विनियोजन भएको बन तथा बातावरण र विपद क्षेत्रमा १९ करोड ८० लाख ७ हजार ६ सय रुपैया विनियोजन गरिएको छ । उक्त रकमबाट राहत तथा पुर्नस्थापना, नगरप्रहरीको क्षमता अभिवृद्धि, वृक्षारोपण तथा हरियाली प्रवद्र्धन, फोहोर संकलन तथा उचित ब्यवास्थापन लगायतका काम हुनेछन् ।

बजेको करिब २.५ प्रतिशत खर्च गरिने सर्बजनिक सेवा र सुशासन क्षेत्रमा २ करोड ४० लाख ६४ हजार ८ सय रुपैया रकम विनियोजन गरिएको छ । उक्त रकमबाट सार्बजनिक सुनुवाइ, पत्रकारहरुको राष्ट्रिय सम्मेलन, फिदिम बजारको पार्किङ ब्यावस्थापन, जिल्ला प्रहरी कार्यालयको कार्यालय ब्यावस्थापन लगायतका काम गरिने छ ।

बजेटको करिब १२ प्रतिशत रकम सञ्चालन खर्चमा विनियोजन गरिएको छ । उक्त रकम ११ करोड ५० लाख रुपैया रहेको छ ।

नीति तथा कार्यक्रममा के छ नयाँ ?

नगरपालिकाले आगामी आथिर्क बर्षको निती तथा कार्यक्रममा केही नयाँ गर्ने प्रयास गरेको पाइन्छ ।

२०७९/८० सिकाइ र बुझाइको कोणबाट फलदायी रहेको भन्दै नगरपालिकाले आमागी बर्षको लागि बनाएको नितीको पहिलो बुँदामा पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

एक वडा एक पकेट उत्पादन गर्ने, स्वास्थ्यको लागि एक घर एक करेसावारी कार्यक्रम सञ्चालन गर्ने, अर्ग्यानिक उत्पादनका लागि जैविक मल कारखाना सञ्चालन तथा ब्यावस्थापन, विपन्न संग नगरप्रमुख कार्यक्रम मार्फत आयवृद्धिका कार्यक्रम सञ्चालन गर्ने लगायतका नीति लिएको छ ।

“सहाराका लागि नगरपालिका” कार्यक्रम अन्तर्गत ७५ बर्ष माथीका, रातो परिचय पत्र भएका अपांगता भएका ब्यक्तिहरु र गर्भवती तथा सुत्केरी महिलालाइ जिल्ला अस्पताल पाँचथर सम्म निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति लिएको छ ।

“शैक्षिक सुधारका लागि विद्यार्थी संग उपप्रमुख” कार्यक्रम सुरु गर्ने लक्ष्य नगरपालिकाको नीतिमा उल्लेख छ ।

गएका बर्षहरुमा सफल मानिएका स्वास्थ्य शिविरलाइ यो बर्ष पनि निरन्तरता दिने नगरपालिकाले नीति लिएको छ । जस्लाइ “नागरिकका साथमा नगरपालिका” कार्यक्रम अन्तर्गत सञ्चालन गरिने छ ।

“सामाजिक सुरक्षाको लागि नगरपालिका” को साथ भन्ने अभियान अन्तर्गत विपन्न, अपांगता भएका ब्यक्ति लगायतको लागि स्वास्थ्य विमामा अनुदान दिने नीति लिएको छ ।

“सुन्दर घर परिवारको रहर” भन्ने अभियानका साथ फुसको छानो हटाउने कार्यक्रम यो बर्ष पनि समावेश गरिएको छ ।

हेल्लो नगरप्रमुख कार्यक्रम मार्फत नागरिकका गुनासो साझै नगरप्रमुख समक्ष राख्ने ब्यवस्था मिलाइने नगरपालिकाको नीतिमा उल्लेख गरिएको छ ।
प्रविधि मैत्री शहरका लागि फ्रि वाइफाइ जोन सञ्चालन गर्ने नीति नगरपालिकाको छ ।

समग्रमा बजेट नीति तथा कार्यक्रम कस्तो छ ?

नगरपालिकाले केही नयाँ गर्ने प्रयास गरेको छ । एम्बुलेन्स, स्वास्थ्य उपचार, स्वास्थ्य शिविर, एक वडा एक उत्पादन, कृषकलाइ प्रोत्साहन तथा पुरस्कार, लगायतका कार्यक्रमलाइ प्रभावकारी रुपमा कार्यान्वायन गर्न सक्ने हो भने यसबाट नागरिक प्रत्यक्ष रुपमा लाभान्भित हुने देखिन्छ ।

बजेटलाइ विस्तृतमा अध्ययन गर्दा बजेटको विषयगत विनियोजित रकम र प्राप्त गर्न खोजेको लक्ष्यमा केही चुनौती देखिन्छ । बजेटको सबैभन्दा ठुलो हिस्सा खर्चिएको सामाजिक विकासका कार्यक्रमहरुबाट प्राप्त गर्ने उपलब्धकी लक्ष्य बजेट बक्तब्यमा थोरैमात्र पाइन्छ भने २ प्रतिशत रकम खर्च गरिने भनिएको सार्बजनिक सेवा र शुसासन बाट प्राप्त गर्ने उपलब्धिको लक्ष्य धेरै देखिन्छ ।

नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उठाइएका विषयलाइ बजेटको प्राथमिकतामा भेटिदैन पढ्दै कमाउदै कार्यक्रमलाइ बजेट विनियोजन गर्दा उपप्रमुख संग विद्यार्थी पढ्दै कमाउदै भनेर ५ लाख रुपैया विनियोजन गरिएको छ । जस्को लक्ष्य नीति तथा कार्यक्रम र बजेटको शिर्माषकमा  फरक भेटिन्छ । एक घर एक करेशावारी कार्यक्रमलाइ नीति तथा कार्यक्रममा जति महत्व दिइएको छ बजेटमा त्यती महत्व दिइएको पाइदैन् । विपन्न को लागि स्वास्थ्य विमामा दिइने अनुदानलाइ बजेटको शिर्षकमा समेटिएको पाइदैन् । अन्य थुप्रै कार्यक्रममा समेत यस्ता कमजोरी भेटिन्छन् ।

बजेटबाट अनुदानको परम्परा कायमै
फिदिम नगरपालिकाले विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि विभिन्न संघसंथालाई सहयोगको लागि झण्डै १ करोड रुपैया विनियोजन गरेको छ । हरिहंश स्मृती प्रतिष्ठानको लागि १० लाख, जिल्ला प्रहरी कार्यालयको लागि ५ लाख, ब्यक्ति तथा संघसंस्थालाइ आर्थिक सहायता मा २५ लाख, प्रेमबाद समाजलाइ ४ लाख, पाँचथर सामुदायिक पुस्तकालय ४ लाख, प्रअहरुलाइ थप प्रोत्साहन भत्ता ६ लाख ७२ हजार, पाँचथर क्याम्पस अक्षय कोष १५ लाख, जागृती आवी ८ लाख, ब्रम्हकुमारी राजयोग ब्यावस्थापन २ लाख, विभिन्न सञ्चार सम्बद्ध संस्थालाइ दिइने अनुदान ७ लाख, उद्योग बाणिज्य संघ १० लाख लगायतका अनुदान रकम करिब १ करोड रकम नगरपालिकाले आगामी आर्थिक बर्षमा खर्चिने भएको छ ।

यस बर्षको खर्चको हाल सम्मको अवस्थालाइ हेरेर अनुमानित अ.ल्या. बजेट निर्माण भएकोले थुप्रै विषय संशोधन र परिमार्जन गर्न सक्ने अवस्था रहन्छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० सम्ममा बजेट नीति तथा कार्यक्रम ल्याउनै पर्ने कानुनी बाध्यताको केही असरहरु फिदिम नगरपालिकाको बजेटमा समेत देखिन्छ ।

अन्त्यमा साधारण तया निती तथा कार्यक्रम स्थानीय तहको प्रमुखले प्रस्तुत गर्ने र बजेट उपप्रमुखले प्रस्तुत गर्ने प्रचलन रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा नीति तथा कार्यक्रम कस्ले प्रस्तुत गर्ने भन्ने विषयमा प्रस्ट उल्लेख नगरिएको भएता पनि २०८० साल असार ७ गते गाउँपालिका राष्ट्रिय महासंघले गाउँसभाको अधिवेशन सञ्चालन सम्बन्धमा मार्गदर्शन सहितको सामाग्री पठाएको थियो ।

संघमा राष्ट्रपति र प्रदेशमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकोले स्थानीय तहमा प्रमुखलेनै प्रस्तुत गर्नु उपयुक्त हुने उल्लेख गरिएको थियो । फिदिम नगरपालिकामा भने उपप्रमुख राधाकृष्ण न्यौपानेले नै बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

उपप्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेटबाट यस नगरपालिकाको “फिदिम नगर, समृद्ध शहर” भन्ने दिर्घकालिन शोच पुरा गर्न थुप्रै आशलाग्दा  ठाउँहरु सृजना भएका छन् । आगामी आर्थिक बर्षको बजेट र नीति तथा कार्यक्रममको प्रभावकारी कार्यान्यावनको शुभकामना ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार