सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ ।
हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने कार्यक्रममा झडप भएको थियो । यसवर्ष पनि आज कलाकार यादव सहभागी हुँदा झडप भएको छ ।
झडपका क्रममा प्रहरीसहित पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेमा महोत्सव हेर्नका लागि आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी रहेका छन् । घाइतेको उपचार भइरहेको छ ।
भारतीय कालाकार यादवलाई हेर्नका लागि गएका दर्शकलाई टिकटबिना प्रवेश निषेध गरेपछि विवाद उत्पन्न भएको थियो । विवाद उत्पन्न भएपछि प्रत्यक्षदर्शीमाथि आयोजक समितिबाट खटिएकाले लाठीचार्ज गरेको महोत्सवमा सहभागीले बताएका छन् ।
झडपका क्रममा गम्भीर भएका घाइतेलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ । गतवर्ष पनि सोही ठाउँमा खेसरीलालको कार्यक्रम हेर्न आएका दर्शकबीच झडप हुँदा ठूलो धनजनको क्षति हुनुका साथै केही दर्शक घाइते भएका थिए । विवादित बर्जु महोत्सव सञ्चालनको अनुमति दिँदा यस्तै समस्या हुने गरेको स्थानीयको भनाइ छ । रासस