निरन्तरको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबानमा

निरन्तरको वर्षाका कारण बाँकेका अधिकांश स्थानीय तह डुबानमा परेका छन्। बाढी र डुबानका कारण जिल्लाका कम्तीमा तीन हजार ५०० विस्थापित भएका छन्।

सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन्। राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३०० घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घर समेत फिर्ता भएको उनले बताए। बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ । त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरि र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१८ र २० का ३०० भन्दा बढी बासिन्दा पनि डुबानका कारण विस्थापित भएका छन्। बाढीले नरैनापुरका २०० घर भत्केका छन्। त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको जानकारी दिए। उनले चार दिनदेखि गाउँमा विद्युत् समेत नभएको बताउनुभयो ।

नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहा लगायत धेरै बस्ती डुबानमा परेका छन्।

जिल्ला विपद व्वस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्यांक संकलन गर्ने, तत्कालका लागि सुख्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ।

सूचना अधिकृत ज्ञवालीले बाढी र डुबानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानिय सरकारले राहत उपलब्ध गराउने निर्णय समेत भएको जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार