दुईवटा पालिकामा नौ जना डेङ्गुका बिरामी फेला

झापामा दुईवटा पालिकामा नौ जना डेङ्गुका बिरामी फेला परेका छन् ।

विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ ।
हाल उनीहरु बिर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा.शुवेश शौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारी दिएका छन् ।

उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताए । डेङ्गु रोगी देखिए लगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेङ्गु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको बताए ।

मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चार जना डेङ्गुका बिरामी फेला परेको छ ।

पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेङ्गुका सङ्क्रमित देखिएसँगै नगरपालिकाले लामखुट्टेबाट हुने डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताए ।

उनले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपालि मङ्सिर महिनामा बढी देखिएको छ । पोथी जातका लामखुट्टेले ससाना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ ।

जमेको पानीको पहिचान गर्दै सबै पालिकाकाले डेङ्गुको लार्भा नष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताएका छन् ।

तराईको जिल्ला भएका कारण झापा डेङ्गु रोगको उच्च जोखिममा पर्ने घिमिरेले बताए ।

उनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यसम्बन्धी काम गर्ने अख्तियारी प्रदान गरेकाले हाल आवश्यक परेको बेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्ने सक्ने बताए ।

विगतमा महामारीकै रुपमा देखिएको डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ ।

जिल्लामा दुई वर्षअघि डेङ्गु रोगकै कारण ५०० बिरामी भएका थिए भने आधा दर्जन बढीको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ ।

ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्याङ्कीमा डेङ्गुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गर्न काम पालिकाले गरिरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार