
साताको पहिलो दिन आइतवार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ ।
दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक र शेयर कारोबार रकम दुबै दशैं पछिको नयाँ रेकर्ड हो ।
आइतवार ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ९.४६ अंकले बढेर ५३०.४६ पुगेको छ ।
विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ६.५४ प्रतिशत बढेको छ । वाणिज्य समूहको ५.९६ र होटल तथा पर्यटन समूहको सेयरमा ५.४४ प्रतिशत वृद्धि देखिएको छ ।
बैंकिङ समूह परिसूचक भने ०.१६ प्रतिशत घटेको छ । आइतवार युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् भने एभरेष्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।