साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारत भिड्दै

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल मालेस्थित राष्ट्रिय रंगशालामा राति ९:४५ सुरु हुनेछ ।

सुरुआती दुई खेलमा जित निकालेको नेपालले भारतविरुद्धको खेलमा उच्च मनोबलकासाथ मैदानमा उत्रिनेछ ।

‘भारतविरुद्धको खेलका लागि राम्रो तयारी गरेका छौँ । भारतविरुद्धको खेल कठिन छ । हामी चरणबद्ध अघि बढी रहेका छौँ । हामीले दुई चरण पार गरिसकेका छौँ,’ कप्तान किरणले प्रि-म्याच कन्फरेन्समा भने, ‘लक्ष्य पूरा गर्नका लागि अर्को चरण रहेको छ । हामी जित्नका लागि ९० मिनेटसम्म प्रतिस्पर्धा गर्छौं ।’

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारत पूर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।
stv

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार