बालबालिकामा कोरोना भाइरस संक्रमण बढ्यो

साउनको अन्तिम सातादेखि नेपालमा बालबालिकामा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । साउन तेस्रो सातासम्म केही कम देखिएको संक्रमितको संख्या भदौ लागेपछि झन् बढेको हो । संक्रमण दर यही रफ्तारले बढ्दै गए बाल अस्पतालहरुले धान्न नसक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरले बालबालिका पनि प्रभावित हुन थालेका छन् । तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेका बेला पछिल्लो एक सातामा दैनिक कोरोना संक्रमित भएकामध्ये करिब ३ सय जना १८ बर्ष भन्दा मुनिका बालबालिका छन् । दैनिक पुष्टि भएका संक्रमितमध्ये ३ सय जना बालबालिका देखिन थालेपछि सरोकारवालाहरु चिन्तित भएका छन् । साउनमा दैनिक २ सयको हाराहारीमा बालबालिकामा कोरोना देखिने गरेकोमा भदौ लागेसंगै औषत दैनिक वृद्धि ३ सय पुग्न थालेको तथ्यांकले देखाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमित बालबालिकामा ज्वरो आउने, पेट दुख्ने, शरीरमा डाबर देखिने, श्वासप्रश्वासमा समस्या हुने, झाडापखाला लाग्नेजस्ता लक्षण पाइएको चिकित्सकहरुले बताएका छन् । यस्तो समस्या देखिए तत्कालै परीक्षण गर्न विज्ञहरुले आग्रह गरेका छन् । तर यस्तो अवस्था आउन नदिन अत्यावश्यक नपरी घरबाहिर हिँडडुल गर्न नै नदिन विशेषज्ञहरुले सुझाएका छन् ।

संक्रमण दर बढेपछि भौतिक रुपमा विद्यालयमा पठनपाठन सञ्चालन बन्द भएको महिनौँ नाघिसकेको छ । अरु बेला विद्यालय गएर भुलिने बालबालिका घरमै रहँदा अभिभावकको समेत निगरानीमा नरहँदा मनलाग्दी ढंगले बाहिर निस्किने गरेका छन् । यसैकारण पनि जोखिम बढेको ठानिएको छ । संक्रमण यही अनुपातमा बढ्दै जाने हो भने बालबालिकाको उपचार व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ तत्कालै ध्यान दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार