
काठमाडौँ । विज्ञहरुले कोरोना भाइरस संक्रमणको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला पछिल्लो केहीदिन यता देशभर संक्रमितको संख्या बढ्दो क्रममा छ । त्यसमा पनि सिकिस्त खालका बिरामीको संख्यासमेत बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको पुष्टि हुन्छ । दुई महिना लामो कडा निषेधाज्ञापछि दैनिक दुई हजारको हाराहारीमा सीमित हुँदै गएको संक्रमितको संख्या अहिले फेरि बढेर चार हजार नजिक पुगेको छ ।
संक्रमित मात्र नभइ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि घटबढ भइरहेको छ । आज मात्र पनि २७ जनाको ज्यान गएको छ भने ३६ सय ११ जना संक्रमित थपिएका छन् । तर संक्रमणमुक्त हुनेहरु संक्रमितको आधा मात्र छन् ।
संक्रमितको संख्यासँगै कोरोनाका नयाँ–नयाँ भेरियन्टहरुसमेत पुष्टि हुँदै जाँदा जनमानसमा फेरि त्रास बढ्दै गएको छ । यो अवस्थामा चुनौतीका चाङ बोकेर आएको शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारलाई संसदीय समिति, सांसद तथा विभिन्न निकायले सचेत गराइरहेका छन् ।
बुधबार मात्र शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई विभिन्न निर्देशन दिएको थियो । यस्तै हिजो बसेको महिला तथा सामाजिक समितिले पनि पहिलो र दोस्रो लहरसँग जुध्ने क्रममा भएका कमि–कमजोरीबाट पाठ सिकेर संभावित तेस्रो लहरविरुद्धको तयारीमा लाग्न सुझाव दिएको छ । समितिले आईसीयू तथा भेन्टिलेटर बेड, अक्सिज र विशेषगरी खोपको व्यवस्थापनमा परिणामुखी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
यता, संसदमा पनि सांसदहरुले सरकार कुनै पनि हालतमा चुक्न नहुने भन्दै खबरदारी गरिरहेका छन् । कोरोनाविरुद्ध लड्ने प्रमुख हतियार खोप नै भएपनि नेपालमा खोप कार्यक्रम पनि प्रभावकारी नभएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
पुनःस्थापित संसदमा सम्बोधन गर्दै साउन ३ गते प्रधानमन्त्री देउवाले खोप सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको थियो । आज बसेको संसद बैठकमा सांसद देवेन्द्र पौडेलले देउवाकै भनाइलाई उदृत गर्दै त्यसैतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पनि यो बेला पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको भन्दै कहिँकतै नचुक्न आग्रह गर्नुभयो । केपी ओली सरकारले यो गरेन् त्यो गरेन् भन्ने दिन गएको स्मरण गराउँदै काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । विगतमा सरकारको कमजोरीले गर्दा ज्यान बचाउन सकिने धेरै व्यक्ति गुमाउनु परेको सांसद थापाको भनाइ छ ।
निषेधाज्ञा खुकुलो भएपछि अधिकांशले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड तथा चहलपहल बढेको कारण संक्रमण पुनः बढ्न थालेको विज्ञहरु बताउँछन् । यही क्रममा संक्रमितको संख्या अझ बढ्दै गएपछि नेपाल तेस्रो लहरको भुमरीमा फस्ने उनीहरुको भनाइ छ ।
कोरोनाको तेस्रो लहरमा अहिलेसम्म संक्रमण नभएका व्यक्तिहरु बढी जोखिममा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्या पनि भरिँदै गएका छन् । विगतबाटै पाठ सिकेर अगामी दिनमा अघि बढ्नुपर्ने डा. पुनको सझाव छ ।
अहिले सबैको पहुँचमा खोप नपुग्नु, जनस्वास्थ्यका मापदण्ड पालना नहुनु र लकडाउन तथा निषेधाज्ञा खुलेपछि मानिसको चहलपहल र भीडभाडले नै तेस्रो हलरलाई निम्तो दिएको विज्ञहरुको भनाइ छ ।
तसर्थ, सरकारले विलम्ब नगरी पुनः महामारी तिब्र रूपमा फैलनु अघि नै नागरिकलाई खोप लगाइसक्नु पर्छ । जुनै समय पनि संक्रमण ह्वात्तै बढ्न सक्ने भएकाले उपचारको तयारीमा ‘अलर्ट’ रहनुपर्ने अवस्था छ, भने नागरिक आफैं पनि सचेत बन्न जरुरी छ ।