कोरोना संक्रमित बढेपछि झापामा शनिबारदेखि फेरि निषेधाज्ञा

कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि झापामा फेरि शनिबारदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै साउन १६ गते मध्यरातिदेखि २३ गतेसम्म पुनः निषेधाज्ञा घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।

यो अवधिमा दूध, तरकारी, मासुजन्य वस्तुको कारोवार बिहान ६ बजे देखि ८ बजेसम्म खुला गरिने प्रशासनले जनाएको छ ।

कोरोनाको संक्रमण बढ्न थालेपछि झापाका १५ स्थानीय तहमध्ये १० वटामा यसअघि नै निषेधाज्ञा लागू गरिएको थियो । झापाको बुद्धशान्ति गाउँपालिकाबाट शुरु भएको निषेधाज्ञा लगाउने क्रम पश्चिमी भागको कमल गाउँपालिकासम्म लागू भएको छ । यस्तै मेचीनगर, हल्दिबारी, कन्काई, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र विर्तामोडमा पनि निषेधाज्ञा लागू गरिएको छ ।

संक्रमणको स्थानीय अवस्थाका आधारमा स्थानीय तहहरुले निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार डीसीसीएमसीको समन्वयमा स्थानीय तहहरुले क्रमिक रुपमा निषेधाज्ञा लागू गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार