बकर–इद राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ।। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिनुभएको छ ।

मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उहाँले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने जनाउनुभयो ।

उहाँले भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएकाले विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्मरण गर्दै ‘इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजाह (बकर–इद)को अवसरमा शुभकामना दिनुभएको छ ।

नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपतिले विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताउनुभएको छ ।

उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, “भाइचारा र पारिवारिक मिलनका रुपमा मनाइने इस्लाम धर्मवलम्बीको महान् पर्व इद–उल–अजाहले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने मैले विश्वास लिएको छु ।

” विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर अझै पनि नियन्त्रणमा आइनसकेको र अझै फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर इद मनाउन उपराष्ट्रपतिले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार